तेस्रो उपत्यका स्तरीय शोतोकान करातेमा ग्रीनल्यान्डको एकछत्र राज : ९ स्वर्णसहित बन्यो ‘टिम च्याम्पियन’

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौं, २१ भदौ (२०८३) ।राजधानीको स्वाती सदनमा सम्पन्न ‘तेस्रो उपत्यका स्तरीय शोतोकान कराते च्याम्पियनसिप-२०२६’ मा ग्रीनल्यान्ड इन्टरनेशनल बोर्डिङ हाई स्कुलले सानदार प्रदर्शन गर्दै टिम च्याम्पियनको ऐतिहासिक उपाधि चुमेको छ। उपत्यकाका १५ चर्चित विद्यालयहरूलाई उछिन्दै ग्रीनल्यान्डले करातेको कुमीतेतर्फ आफ्नो दबदबा कायम गरेको हो।

प्रतियोगितामा प्रशिक्षक राजेन्द्र तामाङको सटिक रणनीति र उत्कृष्ट प्रशिक्षणमा मैदान उत्रिएको ग्रीनल्यान्डको टोलीले सर्वाधिक ९ स्वर्ण, ३ रजत र ६ कांस्य पदक आफ्नो पोल्टामा पार्दै सर्वोत्कृष्ट प्रथम टिम बन्न सफल भएको हो। ग्रीनल्यान्डका खेलाडीहरूले म्याटमा प्रदर्शन गरेको उच्च प्राविधिक कला, अनुशासन र जुझारुपनले त्यहाँ उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकहरूको मन जितेको थियो।

स्वर्ण पदकमा ग्रीनल्यान्डको वर्चस्व

विभिन्न तौल समूहमा भएको कडा प्रतिस्पर्धामा ग्रीनल्यान्डका ९ जना खेलाडीले (प्रतिद्वन्द्वी) लाई परास्त गर्दै स्वर्ण पदक चुमेका छन्। स्वर्ण जित्नेमा ५० केजी तौल समूहबाट राघव चन्द्र पाठक र स्पर्शा राई, ३५ केजी तौलबाट सेसेमा लिम्बू, सुरेश सुन्दास, भिजन कार्की र सौगात मगर रहेका छन्। त्यसैगरी, २५ केजीमा मिन्शु श्रेष्ठ, ३० केजीमा अविष्कार गुरुङ र ४० केजीमा हार्दिक लामिछानेले स्वर्ण पदक जितेर स्कुलको नाम उचो बनाएका छन्।

रजत र कांस्यमा पनि उत्कृष्ट प्रदर्शन

ग्रीनल्यान्डका अन्य खेलाडीहरूले पनि म्याटमा बहादुरीपूर्ण खेल प्रदर्शन गरेका छन्। ४५ केजी तौल समूहमा स्वप्निल जोशी, ४० केजीमा सन्दीप पुलामी मगर र ३० केजीमा ओशन कुँवरले उत्कृष्ट खेल पस्कँदै रजत पदक प्राप्त गरेका छन्।

त्यस्तै, मोहित ढिताल (फ्री तौल), सरस्वती थापा मगर (५० केजी), समिप राई (४५ केजी), डेनिस थापा मगर (३५ केजी), आयुष गुरुङ (३५ केजी) र तन्छोमा लिम्बू (२५ केजी) ले कांस्य पदक जितेर टिमको समग्र सफलतामा महत्त्वपूर्ण इँटा थपेका छन्।

अथक मेहनत र सामूहिक प्रयासको प्रतिफल

यस सानदार सफलतापछि प्रतिक्रिया दिँदै प्रशिक्षक राजेन्द्र तामाङले यो उपलब्धि खेलाडीहरूको अथक मेहनत, कडा अनुशासन र निरन्तरको अभ्यासको परिणाम भएको बताएका छन्। उनले विजयी सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै यस यात्रामा हौसला, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण खेलप्रेमी, दाजुभाइ तथा शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरेका छन्।

"खेलाडीहरूको लगाव र सबैको सामूहिक सहयोगले मात्र यो सफलता सम्भव भएको हो," प्रशिक्षक तामाङले भने।

विद्यालय स्तरमा मार्सल आर्ट्सको विकास र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको यस च्याम्पियनसिपले कराते खेलप्रतिको क्रेजलाई थप उचाइमा पुर्‍याएको छ। ग्रीनल्यान्डको यो सफलताले नेपाली करातेमा आशालाग्दा नयाँ प्रतिभाहरूको उदय भएको स्पष्ट पारेको छ।जय कराते! 🥋🇳🇵🏆


प्रतिक्रिया