प्रभु बैंकको नेतृत्वमा नयाँ युगको सुरुवात: सिइओमा सुमन शर्मा नियुक्त

ecopolinews.com

काठमाडौं, माघ २० - प्रभु बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनुभवी बैंकर सुमन शर्मालाई नियुक्त गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो, जसको जानकारी बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराइसकेको छ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका शर्मासँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनी यसअघि तत्कालीन सानराइज बैंक (हाल लक्ष्मी सनराइज बैंक) र माछापुच्छ्रे बैंकमा सफलतापूर्वक सिइओको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेतृत्वकर्ता हुन्।

अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका शर्मा रणनीतिक व्यवस्थापन, संस्थागत सुधार, डिजिटल बैंकिङ विस्तार र ग्राहक-केन्द्रित सेवाका लागि परिचित छन्। उनको नेतृत्वमा प्रभु बैंकले वित्तीय स्थायित्व मजबुत बनाउने, सेवा गुणस्तर उकास्ने तथा प्रतिस्पर्धी बैंकिङ बजारमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

नयाँ सिइओको नियुक्तिसँगै प्रभु बैंकले सुदृढ नेतृत्व, दीर्घकालीन दृष्टि र व्यावसायिक दक्षता मार्फत बैंकलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया