काठमाडौंमा नयाँ सिडिओ: सुन छानबिन समितिका संयोजक रहिसकेका ईश्वरराज पौडेल जिम्मेवारीमा

ecopolinews.com

२०७४ को उच्चस्तरीय सुन तस्करी छानबिन समितिको नेतृत्व गरेका पौडेल पुनः चर्चामा

९ असोज, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वको जिम्मेवारी ईश्वरराज पौडेललाई दिएको छ। जेनजी आन्दोलनपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविराज रिजाल कार्यालय नआएपछि रिक्त रहेको पदमा पौडेललाई पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

पौडेल २०७४ सालमा गठित उच्चस्तरीय सुन तस्करी छानबिन समितिका संयोजकसमेत थिए। उनको नेतृत्वमा भएको छानबिनले ३८ क्वीन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो। समितिले अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयकै अधिकारीहरूमाथि मुद्दा चलाउन सिफारिस गरेपछि ठूलो विवाद र आलोचना समेत भएको थियो।

सुन छानबिन प्रतिवेदन बुझाएलगत्तै पौडेललाई भारतको कोलकातामा महावाणिज्यदूतका रूपमा पठाइएको थियो।

त्यसैबेला समितिका सदस्य रहेका वसन्त लामाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। हाल लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदबाट अवकाश प्राप्त गरिसकेका छन्।


प्रतिक्रिया