काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम टुंगो लगाएकी छन्। बालुवाटार स्रोतका अनुसार आइतबार राष्ट्रपति कार्यालयमा सिफारिस भएका मन्त्रीहरूले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्रा सिफारिस भएकी छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आविष्कारक महावीर पुनले पाउने भएका छन्। उद्योग तथा भूमिसुधार मन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा वरिष्ठ पत्रकार जगदीश खरेल र कृषिमन्त्रीमा समता फाउन्डेसनका अध्यक्ष तथा जलवायु विज्ञ डा. मदन परियारको नाम सिफारिस गरिएको हो।
डा. मिश्राले स्वास्थ्य क्षेत्रमा उच्च प्रशासनिक पदमा काम गर्दै महत्वपूर्ण योगदान पुर्याएकी छन् भने महावीर पुन नवप्रवर्तन र प्रविधि क्षेत्रमा चर्चित व्यक्तित्व हुन्। सिन्हा संवैधानिक मुद्दाका महत्त्वपूर्ण फैसलामा संलग्न रहिसकेका छन् भने खरेल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। डा. परियार भने जलवायु परिवर्तन, कृषि विकास र दलित समुदायको हकहितमा लामो समयदेखि सक्रिय छन्।
नयाँ मन्त्रीहरूको आगमनसँगै कार्की नेतृत्वको अन्तरिम सरकार अझै फराकिलो भएको छ।