विश्व शक्तिको समीकरण बदलिँदैछ? BRICS को नयाँदिल्ली घोषणापत्रले दियो यस्तो संकेत

ecopolinews.com

काठमाडौं । ब्रिक्स राष्ट्रहरूले कृत्रिम बुद्धिमत्ता (एआई) देखि विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय शासन प्रणालीसम्म विकासशील राष्ट्रको प्रभाव विस्तार गर्ने साझा एजेन्डा अघि सारेका छन्।

भारतमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनपछि जारी नयाँदिल्ली घोषणापत्रले एआईलाई सुरक्षित, विश्वसनीय, समावेशी र सबैका लागि पहुँचयोग्य बनाउँदै आर्थिक तथा दिगो विकासमा प्रयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ। शिक्षा, डिजिटल साक्षरता, सीप विकास तथा विश्वविद्यालयबीचको सहकार्यलाई पनि प्राथमिकता दिइएको छ।

घोषणापत्रमा आईएमएफ र विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाको संरचना तथा निर्णय प्रक्रियामा विकासशील र उदीयमान अर्थतन्त्रको प्रतिनिधित्व बढाउनुपर्ने माग गरिएको छ। विश्व व्यापार संगठनलाई थप खुला, पारदर्शी, निष्पक्ष र नियममा आधारित बनाउनुपर्नेमा समेत ब्रिक्सले जोड दिएको छ।

मध्यपूर्वको संकटमा युद्धविराम र मानवीय सहायता सुनिश्चित गर्न आह्वान गर्दै ब्रिक्सले इजरायल–प्यालेस्टाइन विवादको दुई–राष्ट्र समाधानको समर्थन गरेको छ।

त्यस्तै, आतंकवाद, साइबर अपराध, डिजिटल ठगी, मानव तथा हतियार तस्करी र सम्पत्ति शुद्धीकरणविरुद्ध सहकार्य बढाउने प्रतिबद्धता जनाइएको छ।

जलवायु परिवर्तनबाट सिर्जित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, प्रतिरोधी पूर्वाधार र लगानी विस्तार तथा न्यू डेभलपमेन्ट बैंकमार्फत ग्लोबल साउथका विकास परियोजनामा वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ।

समग्रमा, नयाँदिल्ली घोषणापत्रले एआईको जिम्मेवार प्रयोगसँगै बहुध्रुवीय विश्व व्यवस्था र ग्लोबल साउथको आर्थिक तथा राजनीतिक प्रभाव विस्तारलाई ब्रिक्सको रणनीतिक प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया