रविन्द्र कट्टेल - काठमाण्डौ - नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोले सिर्जना गरेको राष्ट्रिय शोक र सङ्कटको यस त्रासदीपूर्ण घडीमा मलम लगाउँदै दुबईस्थित 'हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एण्ड सर्भिस ग्रुप' (Hydrojet Global Technology & Service Group) र पुडासैनी परिवारले रु. ५१ लाख ५१ हजार १ सय ११ (रु. ५१,५१,१११) को ऐतिहासिक आर्थिक सहयोग प्रदान गरेको छ। बुबा गोपी पुडासैनी र आमा उषा पुडासैनीका सुपुत्र विष्णुप्रसाद पुडासैनीले सम्पूर्ण पुडासैनी परिवार र हाइड्रोजेट ग्रुप अफ कम्पनिजका तर्फबाट यो उदाहरणीय राहत रकम उपलब्ध गराउँदै मातृभूमिप्रतिको आफ्नो अगाध माया र मानवीय उत्तरदायित्व प्रस्तुत गर्नुभएको छ।
सहयोग प्रदान गर्ने क्रममा विष्णुप्रसाद पुडासैनीले यस कहालीलाग्दो प्राकृतिक प्रकोपमा परी आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले आफन्त गुमाउँदाको पीडामा छट्पटाइरहेका शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्नुका साथै विपद्मा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसका अतिरिक्त, उहाँले विपद्मा परी बेपत्ता भएका नागरिकहरूको अवस्था अझै अज्ञात रहेकाले उनीहरूको शिघ्र, प्रभावकारी खोजी र सत्यतथ्य छानबिनको कार्यमा सम्पूर्ण राज्य संयन्त्र र सम्बन्धित पक्षलाई तदारुकताका साथ लाग्न विशेष अनुरोध समेत गर्नुभएको छ।
बाढी-पहिरोका कारण घरबारविहीन भई अकल्पनीय क्षति बेहोर्नुपरेका परिवारहरूलाई तत्काल राहत र पुनर्स्थापनामा सहजता ल्याउने पवित्र उद्देश्यले प्रदान गरिएको यस सहयोग केवल एक सुरुवात मात्र रहेको पुडासैनीले स्पष्ट पार्नुभएको छ। प्रभावितहरूको आँसु पुछ्ने कार्यमा आफू र आफ्नो संस्था सदैव समर्पित रहने बताउँदै उहाँले आगामी दिनहरूमा पनि प्रभावित क्षेत्रहरूमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने दृढ अठोट व्यक्त गर्नुभएको छ। मानवीय सेवा नै परमो धर्म हो भन्ने भावनालाई आत्मसात् गर्दै पुडासैनी परिवार र हाइड्रोजेट ग्रुपले भविष्यमा आइपर्ने जुनसुकै सङ्कट र विपद्का बेला पनि नेपाली समाजको दुःखमा मल्हम लगाउन चट्टानझैँ उभिएर सहयोगको हात अघि बढाउने अटुट प्रतिबद्धता जनाएका छन्।