लमजुङ । नेपाली कांग्रेस लमजुङ जिल्ला कार्य समितिले पार्टीको इतिहासमै महत्वपूर्ण मानिएको विशेष महाधिवेशनमा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ।
कांग्रेसले यही पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र समसामयिक राजनीतिक चुनौतीहरूमाथि निर्णायक छलफल हुने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।
जिल्ला कार्य समितिले जारी गरेको आधिकारिक पत्रमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको उल्लेख गर्दै यस्तो ऐतिहासिक घडीमा प्रतिनिधिहरूको सहभागिता औपचारिकतामा सीमित नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्ष जोडिएको स्पष्ट पारेको छ।
पत्रमा जिल्ला, प्रदेश तथा स्थानीय तहमा पार्टी नेतृत्व गरिरहेका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई जिम्मेवार र गरिमामय उपस्थिति जनाउँदै महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
जिल्ला कांग्रेसले सबैको सामूहिक सहभागिताबाट मात्रै पार्टीको विधान पालना, एकता मजबुत, विश्वासनीयता वृद्धि र जनमुखी पार्टी निर्माण सम्भव हुने उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई जनतासामु अझ विश्वसनीय र सशक्त विकल्पका रूपमा प्रस्तुत गर्न विशेष महाधिवेशन निर्णायक हुने विश्वास व्यक्त गरेको छ।
अन्त्यमा, लोकतन्त्रको रक्षा, पार्टीको सुदृढीकरण र उज्ज्वल भविष्यका लागि सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ।