घुस अडियो प्रकरण : दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियारको मुद्दा, ७८ लाख विगो दाबी

ecopolinews.com

काठमाडौं, २२ असोज । घुस डिलसम्बन्धी अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घर-जग्गा व्यवसायी/विचौलिया सुजनकुमार तामाङ (सुजन लामा), खेमबहादुर पुन (खेम पुन), यमकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध बुधबार मुद्दा दर्ता गरेको हो।

अख्तियारका अनुसार सो प्रकरणमा प्रतिवादीहरूले भ्रष्टाचारमार्फत आर्थिक लाभ लिएको ठहर गर्दै ७८ लाख रुपैयाँ बराबरको विगो मागदाबी गरिएको छ। प्रत्येक प्रतिवादीबाट फरक–फरक रकम विगो दाबी गरिएको आयोगले जनाएको छ।

घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि यो प्रकरणले लामो समयदेखि राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो चर्चा पाएको थियो। अख्तियारको यो मुद्दा दर्तासँगै अब प्रकरण विशेष अदालतमा सुनुवाइ चरणमा प्रवेश गर्नेछ।

प्रतिक्रिया