लमजुङ: जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ–चैत) समीक्षा सार्वजनिक गरेको छ। जिल्ला प्रहरी प्रमुख (डीएसपी) जितेन्द्र कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक तथ्याङ्क अनुसार लमजुङमा बैंकिङ कसुर र आत्महत्याका घटना चुनौतीका रूपमा देखिएका छन्।
तीन महिनाको अवधिमा ६० वटा मुद्दा दर्ता भएकोमा १५ वटा फछ्र्योट भएका छन् भने ४५ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्। प्रहरीका अनुसार प्रतिवादी फरार रहेका र पहिचान हुन नसकेका कारण केही मुद्दाको किनारा लाग्न बाँकी छ।
समीक्षाका मुख्य बुँदाहरू:
अपराध तथ्याङ्क: १४ वटा बैंकिङ कसुर र १३ वटा झुण्डिएर आत्महत्या गरेका मुद्दा दर्ता भएका छन्। लागूऔषध, कर्तव्य ज्यान र सवारी ज्यान लगायतका मुद्दामा अनुसन्धान जारी छ।
ट्राफिक कारबाही: यस अवधिमा २,६५७ सवारी साधन कारबाहीमा पर्दा २३ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मापसे गरी सवारी चलाउने ९१ जना कारबाहीमा परेका छन्।
हराएकाहरूको खोजी: हराएका १८ जनामध्ये १५ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ।
उजुरी व्यवस्थापन: उजुरी तथा छानबिन शाखामा परेका ८३ निवेदनमध्ये ८० वटा फछ्र्योट भइसकेका छन्।
प्रहरीले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन बेसीशहरका मुख्य स्थानमा सीसीटीभी क्यामेरा जडान गरी निगरानी बढाएको छ। कार्यक्रममा पत्रकार महासङ्घका प्रतिनिधिहरूले प्रहरीको सक्रियता र पारदर्शिताको प्रशंसा गर्दै अपराध न्यूनीकरणमा नागरिकको भूमिकाबारे चर्चा गर्नुभएको थियो।