गाजा कब्जा गर्न इजरायली आक्रमणको कतारद्वारा कडा निन्दा

ecopolinews.com
१ असोज, काठमाडौं । कतारले गाजा कब्जा गर्ने उद्देश्यसहित इजरायलले सुरु गरेको स्थलगत आक्रमणलाई कडा शब्दमा निन्दा गरेको छ।

बुधबार जारी विज्ञप्तिमा कतारी परराष्ट्र मन्त्रालयले इजरायली आक्रमणलाई प्यालेस्टिनी जनतामाथि भएको युद्ध, नरसंहारको विस्तार र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घनका रूपमा वर्णन गरेको छ। मन्त्रालयले इजरायलले योजनाबद्ध रूपमा शान्तिका सम्भावनाहरूलाई कमजोर पारिरहेको आरोप लगाउँदै यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको चेतावनी दिएको छ।

कतारले विज्ञप्तिमा फेरि एकपटक ‘दुई राष्ट्र समाधान’ नीतिको समर्थन दोहोर्‍याएको छ र आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई एकजुट भएर कदम चाल्न आग्रह गरेको छ।

यसबीच, गाजा सिटीमा इजरायलले निरन्तर हवाई आक्रमण गरिरहेको छ। स्थानीय सञ्चारकर्मीका अनुसार सहर नछाड्ने घोषणा गरेका सर्वसाधारण पनि बाध्य भएर पलायन भइरहेको र विस्थापनको क्रममा समेत बमबारीमा परेर सर्वसाधारणको ज्यान गएको छ।

गत हप्तामात्रै, कतारमा वार्तामा रहेका हमास अधिकारीलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणमा एक कतारी नागरिकसहित ६ जनाको मृत्यु भएको थियो।

कतारमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत भएकाले त्यहाँको राजनीतिक तथा सुरक्षागत अवस्था नेपालका लागि पनि प्रत्यक्ष सरोकारको विषय बनेको छ।

प्रतिक्रिया