अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक निर्णय लिँदै रक्षा मन्त्रालय (Department of Defense) को नाम परिवर्तन गरी अब ‘युद्ध मन्त्रालय’ (Department of War) राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्वको बदलिँदो राजनीतिक–सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै यो नाम अत्यन्त उपयुक्त भएको बताए। “हामीसँग संसारकै शक्तिशाली सेना छ। अब यसको नाम पनि त्यसैअनुरूप हुनुपर्छ,” ट्रम्पले घोषणा गरे।
यस कार्यकारी आदेशसँगै रक्षा मन्त्रालयको दोस्रो आधिकारिक नाम ‘युद्ध मन्त्रालय’ हुने र रक्षामन्त्री पिट हेगसेथ ‘युद्ध मन्त्री’का रूपमा सम्बोधन गरिने भएको छ।
नयाँ नामसँगै नयाँ सन्देश
ओभल अफिसमै उपस्थित मन्त्री हेगसेथले यो केवल नाम परिवर्तन मात्र नभई अमेरिकी सेनाको पुनः शक्ति–प्रदर्शन भएको बताए।
“यो कदमले सेना अब केवल रक्षा गर्ने होइन, आवश्यकता परे आक्रमण गर्न सक्षम छ भन्ने स्पष्ट सन्देश दिन्छ। यो नामले ‘रक्षक’ मात्र होइन ‘योद्धा’ पनि निर्माण गर्नेछ,” हेगसेथले भने।
पेन्टागनका अधिकारीहरूले तत्कालै मन्त्रालयको कार्यालयबाहिरको साइनबोर्ड परिवर्तन गरिसकेका छन्। मन्त्रालयको आधिकारिक वेबसाइट पनि defense.com बाट war.com मा रूपान्तरण गरिएको छ। साथै, छोटकरी नाम DOD (Department of Defense) को सट्टा अब DOW (Department of War) प्रयोग हुने भएको छ।
कानुनी प्रक्रिया र ऐतिहासिक पृष्ठभूमि
यद्यपि कार्यकारी आदेशलाई संवैधानिक रूपमा स्थायी बनाउन अमेरिकी संसदको अनुमोदन आवश्यक पर्छ। ट्रम्पले त्यसका लागि आवश्यक प्रस्ताव संसदमा लैजाने तयारी गरिरहेको बताएका छन्।
अमेरिकामा ‘युद्ध मन्त्रालय’ पहिलोपटक सन् १७८९ मा स्थापना भएको थियो, जुन वर्ष संविधान लागू भएको थियो। तर, दोस्रो विश्वयुद्ध सकिएको दुई वर्षपछि १९४७ मा यसलाई ‘रक्षा मन्त्रालय’ नाम दिइएको थियो।
रक्षामन्त्री हेगसेथले यसअघि सामाजिक सञ्जालमार्फत ‘Department of War’ भन्ने नाम प्रयोग गर्दै जनमत सर्वेक्षणसमेत गरेका थिए। नाम परिवर्तनबारे ट्रम्प र हेगसेथबीच लामो समयदेखि छलफल भइरहेको एपीले जनाएको छ।
नयाँ नामले अमेरिका अब रक्षात्मक मात्र नभई आक्रामक भूमिका पनि खेल्न तयार छ भन्ने सन्देश विश्वलाई दिने ट्रम्प प्रशासनको दाबी छ।