समानुपातिक सूचीमै बेइमानी ! ५८ दलको बन्दसूचीमा किन दोहोरियो लज्जास्पद त्रुटि?

ecopolinews.com

फागुन २१ गते मतदान हुने प्रतिनिधि सभाको निर्वाचनपछि गठन हुने संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उमेदवारको बन्दसूची बुझाएका ५८ वटै राजनीतिक दलको सूची त्रुटिपूर्ण भेटिनु केवल प्राविधिक कमजोरी होइन, यो संविधानको मर्ममाथि गरिएको सुनियोजित बेवास्ता हो।

महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न संविधानले समानुपातिक प्रणालीको व्यवस्था गरेको हो। प्रत्यक्ष निर्वाचनमा अवसर नपाउने योग्य व्यक्तिलाई संसद्मा पुर्‍याउने यो व्यवस्थालाई नेताहरूले आफन्तवाद, कृपावाद र डरको राजनीति बचाउने औजार बनाएका छन्।

समानुपातिक सूचीमा नेताका आफन्त, चाकरीदार, चन्दादाता र चुनाव हार्ने डरले भागेका प्रभावशाली अनुहारहरू घुसाइएका उदाहरण नयाँ होइनन्। तर यसपटक त दलहरूले बुझाएको बन्दसूची त्रुटिरहित बनाउने न्यूनतम जिम्मेवारीसमेत नबहनु लोकतान्त्रिक लज्जाको विषय बनेको छ।

निर्वाचन आयोगको छानबिनले समावेशी समूहअनुसार उमेदवार नमिलाउने, ऐनले तोकेको प्रतिनिधित्व नगर्ने, नागरिकता र मतदाता नामावलीको प्रमाण नजोड्ने जस्ता नियतवश र असावधानीजन्य दुवै प्रकारका गल्तीहरू उजागर गरेको छ। नेपाली कांग्रेसको सूचीमा त एकै व्यक्तिको नाम दुई ठाउँमा राखिएको हास्यास्पद उदाहरणसमेत भेटियो।

अपारदर्शी प्रक्रिया, नेताको तजबिज र हतारमा तयार पारिएको बन्दसूची त्रुटिपूर्ण हुनु संयोग होइन। अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हडप्नेदेखि कानुनले तोकेको समूहलाई जानाजान पन्छाउने प्रवृत्ति राजनीतिक बदनियतको प्रमाण हो।

तर प्रश्न अझ गम्भीर छ— निर्वाचन आयोग किन यति उदार ?

जानाजान गरिएका गल्तीमा पनि सच्याउने मौका दिँदै जाने परिपाटीले दलका नेताहरूलाई जिम्मेवार होइन, झन् लापरवाह र उद्दण्ड बनाइरहेको छ। राज्यका अन्य निकाय वा सामान्य नागरिकलाई यति छुट मिल्छ ? कदापि मिल्दैन।

यदि राजनीतिक संस्कार सुधार्ने र लोकतन्त्रलाई न्यायपूर्ण बनाउने हो भने, नियतवश गरिएका उल्लङ्घनमा सच्याउने सुविधा रोकिनै पर्छ। ऐनविपरीत राखिएका नाम हटाएर सूची कायम गरिने हो भने मात्र दलहरू एकैपटक कानुनअनुसार सूची बुझाउन बाध्य हुनेछन्।

सायद यही बाध्यताले नेताहरूलाई इमानदार र लायक बनाउनेछ।

आशा त हो— महाभारतमा भीष्म, द्रोण र कर्णको पतनपछि पनि दुर्योधनले शल्यलाई सेनापति बनाएर जितको सपना देखेकै थियो।

तर इतिहासले देखाइसकेको छ, भ्रममा टेकेर जित सम्भव हुँदैन।

प्रतिक्रिया