रविन्द्र कट्टेल - देशको शान्ति सुरक्षाको कमान्ड सम्हाल्ने गृहमन्त्री सधैं कडा सुरक्षा घेरा र तामझामका बीच हिँड्ने परम्परा छ। तर, नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सुरक्षा संयन्त्रलाई नै पत्तो नदिई सुटुक्क तराईका सीमा क्षेत्रमा पुगेर सबैलाई चकित पारेका छन्। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लगत्तै उनी भेष बदलेर बारा र पर्साका सीमान्तकृत गाउँहरूमा पुगेको खुलासा भएको छ। यस घटनाले स्थानीय प्रहरी प्रशासनको सूचना संयन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको छ भने, भुइँमान्छेको वास्तविक अवस्था बुझ्न गृहमन्त्रीले अपनाएको यो शैली यतिबेला चर्चाको शिखरमा छ।
भेष बदलेर जनताको घरदैलोमा: हाफ टिसर्ट र मास्कमा गृहमन्त्री
उच्च पदस्थ अधिकारीहरू गाउँ जाँदा हुने सरकारी तडकभडकलाई चिर्दै गृहमन्त्री गुरुङ सर्वसाधारणको भेषमा सीमा क्षेत्रमा पुगेका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका भिडियो दृश्यहरूमा उनलाई सहजै चिन्न निकै मुस्किल पर्छ। अनुहारमा मास्क, टाउकोमा टोपी, हाफ टिसर्ट र सामान्य पाइन्ट लगाएका उनी एक आम नागरिकजस्तै देखिएका छन्।
प्राप्त जानकारी अनुसार, चितवनमा रास्वपाको महाधिवेशन सकिएलगत्तै शुक्रबार राति उनी माडी ठोरीको बाटो हुँदै पर्साको विकट र ग्रामीण इलाका प्रवेश गरेका थिए। शनिबार दिनभर उनले बारा र पर्साका अति संवेदनशील मानिने सीमावर्ती क्षेत्रहरूको स्थलगत अवलोकन मात्र गरेनन्, त्यहाँका स्थानीय बासिन्दा र विशेषगरी ज्येष्ठ नागरिकहरूसँग लामो भलाकुसारी समेत गरेका छन्। उनले जानकी टोला, मटिअर्वा र अलौँ जस्ता सीमावर्ती नाकाहरूमा पुगेर त्यहाँको यथार्थ अवस्था, खुला सिमानाले ल्याएका चुनौती र स्थानीयका गुनासाहरू प्रत्यक्ष रूपमा सुनेको पाइएको छ।
जिल्लाको सुरक्षा संयन्त्र नै बेखबर, प्रशासन गहिरो निद्रामा
देशको गृहमन्त्री आफ्नो जिल्लाको कुनाकाप्चामा घुमिरहँदा बारा र पर्साको सिंगो सुरक्षा संयन्त्र र स्थानीय प्रशासन भने गहिरो निद्रामा देखिएको छ। भीआईपीहरूको सवारीमा स्कर्टिङ गर्न र स्यालुट हान्न अभ्यस्त स्थानीय प्रहरी प्रशासनलाई आफ्नो विभागीय कमान्डर गाउँमा आएर फर्किएको पत्तोसम्म भएन।
यस विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा पर्सा र बारा दुवै जिल्लाका प्रहरी प्रशासनले पूर्ण रूपमा अनभिज्ञता प्रकट गरेका छन्। प्रशासनका अधिकारीहरूले लाचारी व्यक्त गर्दै आफूहरूलाई गृहमन्त्रीको भ्रमणबारे कुनै पूर्वजानकारी वा सूचना नरहेको स्वीकार गरेका छन्। जिल्लाको गुप्तचर निकाय र प्रहरी संयन्त्र कतिसम्म कमजोर छ भन्ने कुराको यो एक ज्वलन्त उदाहरण बनेको छ। अर्कोतर्फ, गृहमन्त्री गुरुङको निजी सचिवालयले पनि यस रहस्यमय भ्रमणको विषयमा हालसम्म कुनै औपचारिक जानकारी गराएको छैन र मिडियासामु मौनता साँधेको छ।
फिल्टर नगरिएको यथार्थ बुझ्ने साहसिक कदम
गृहमन्त्रीको यो 'सस्पेन्स' भ्रमणलाई लिएर यतिबेला जनमानसमा तरंग फैलिएको छ। सुरक्षाकर्मीको दलबलसहित जाँदा स्थानीय प्रशासनले देखाउने 'बनावटी यथार्थ' भन्दा नागरिकले भोगेका वास्तविक पीडा बुझ्न यो कदम चालिएको प्रष्ट हुन्छ। खुला सिमानाका कारण हुने चोरी निकासी, सीमा क्षेत्रका नागरिकले राज्यबाट खेप्नुपरेका दैनिक सास्ती र सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको वास्तविक कार्यशैलीलाई कुनै पूर्वतयारी बिना नजिकबाट नियाल्न उनले यो साहसिक कदम उठाएको देखिन्छ।
सुरक्षा घेरा तोडेर जनताको वास्तविक अवस्था बुझ्ने गृहमन्त्रीको यो शैली आम नागरिकका लागि निकै प्रशंसनीय बनेको छ। बिचौलिया र आसेपासेको घेराभन्दा बाहिर निस्केर सीमान्तकृत जनताको आवाज सुन्ने यस्तो अभ्यासले नीति निर्माणमा पक्कै पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर, यसै घटनाले राज्यको सूचना प्रणाली र स्थानीय प्रशासनको सुराकी संयन्त्र भने कतिसम्म निरीह छ भन्ने डरलाग्दो यथार्थलाई पनि सतहमा ल्याइदिएको छ।