हालैको जेन-जी आन्दोलन र त्यसपछिका घटनाले राजधानीमा राजनीतिक ध्रुवीकरण र आक्रोश बढेको छ । यही सन्दर्भमा सुदन गुरुङ र काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै राखिएको उक्त ब्यानरले राजनीतिक तापक्रम झनै तातेको देखिन्छ ।
काठमाडौं । राजधानीको माइतिघर मण्डलामा मंगलबार साँझ तनाबपूर्ण अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको मागसहित राखिएको ब्यानर केही समयमै एमालेका कार्यकर्ताको समूह आएर फोरेका र नयाँ ब्यानर टाँसेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार, एमालेसँग निकट देखिने केही युवाहरुले हातमा ‘सुदन गुरुङ र बालेन शाह हत्यारा हुन्, उनीहरूलाई पक्राउ गर’ भन्ने लेखिएको ब्यानर टाँसेका थिए । सो ब्यानरमा ‘हिंसक, हत्यारा, विदेशी दलाल’ जस्ता शब्द प्रयोग गरिएको थियो ।
घटनापछि माइतिघर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो । स्थानीय र प्रहरी स्रोतका अनुसार, सो समूह केही मिनेटमै ब्यानर टाँसेर त्यहाँबाट फर्किएको थियो ।
यसअघि सो स्थानमा ‘ओलीलाई कारबाही गर’ भन्ने माग राखिएको ब्यानर टाँसिएको थियो, जसपछि राजनीतिक रूपमा संवेदनशील माहोल झन् तातिएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको र राति माइतिघर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको जनाएको छ ।