ए डिभिजन लिगको छलफल मन्त्रालयमा: एन्फामाथि दबाब, पूर्वअध्यक्ष शेर्पाको तीव्र आपत्ति

ecopolinews.com

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग सम्बन्धी महत्वपूर्ण छलफल युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा गर्न लागेको छ। बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको उक्त बैठकमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि सहभागी हुने भएका छन्।

एन्फाले १४ वटा ए डिभिजन क्लबलाई पठाएको पत्रमा मन्त्री गुप्तासँग लिगको तयारीबारे छलफल गर्नका लागि अध्यक्ष वा महासचिव स्तरका प्रतिनिधि पठाउन अनुरोध गरिएको छ। तर, बैठक मन्त्रालयमा बोलाइएपछि खेल क्षेत्रभित्र नै यसले वैधानिकता र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको छ।


एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले सामाजिक सञ्जालमार्फत यो कदमको कडा आलोचना गरेका छन्। उनले लेखेका छन्,

“खेलकुद मन्त्रालयले लिगको बैठक आयोजना गर्ने रे! कुन ऐन र कार्यविधि अनुसार यस्तो कदम चालिएको हो? अब एन्फाको कार्यलय नै मन्त्रालयमा सार्ने हो र? लिग सञ्चालनको जिम्मेवारी संघको हो, मन्त्रालयको होइन।”

शेर्पाले मन्त्रालयमार्फत बैठक आयोजना हुनुलाई खेलकुद प्रशासनिक संरचनामाथिको हस्तक्षेपको संकेत भन्दै ‘सस्तो लोकप्रियता होइन, विधि र विधानलाई बलियो बनाउने परम्परा चाहिएको’ टिप्पणी गरेका छन्।

गत असोज अन्तिमतिर एन्फाले यस वर्षको ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने घोषणा गरेको थियो। क्लबहरूले तयारीका लागि समय मागेपछि लिगलाई फेरि ढिलो गरिँदै आएको छ। एन्फाले ‘राष्ट्रिय लिग’ को संकेत गरे पनि यसको प्रारूप अझै स्पष्ट छैन।

२०७९/८० को अन्तिम लिग २०८० जेठ २३ मा सकिएको थियो, जसमा चर्च ब्वाइज युनाइटेड विजेता बनेको थियो। त्यसयता करिब तीन वर्ष बितिसक्दा पनि नयाँ लिग सुरु नहुँदा एन्फामाथि लगातार आलोचना भइरहेको छ।

यसबीच, मन्त्रालयमै बैठक हुने निर्णयले संघ र मन्त्रालयबीचको भूमिकाबारे नयाँ विवादको सुरुआत गरेको विश्लेषण गरिँदैछ। स्रोत:सेतोपाटी

प्रतिक्रिया