काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आउँदो शनिबार दिउँसो १ बजे काठमाडौँको होटल एभरेस्टमा पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा गर्ने तयारी भएको ढुंगानाले बताएका छन्।
टिकटकमार्फत सार्वजनिक गरिएको एक भिडियो सन्देशमा ढुंगानाले दल खोल्नुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यसका लागि वार्ता समिति गठन गरी तयारी तीव्र गतिमा अघि बढाइएको बताएका छन्।
ढुंगानाका अनुसार, नयाँ दलको मुख्य लक्ष्य प्रणालीगत परिवर्तन हो। उनले भनेका छन्, “राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी अहिलेको अवस्थामा निर्वाचनमा जाने तयारी गर्दैछौँ। जबसम्म हाम्रो बटमलाइन — प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीलाई भोट दिने अधिकार, र नागरिक तहबाटै भ्रष्टाचार नियन्त्रण गर्ने निकाय — स्थापित हुँदैन, तबसम्म हामी निर्वाचनमा जाँदैनौँ।”
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई देश परिवर्तनको आधारशिला भन्दै ढुंगानाले उक्त आन्दोलनको मर्मलाई निरन्तरता दिने घोषणा गरेका छन्। उनका अनुसार यो आन्दोलन “देशको मुहार फेर्ने” अभियान हो, जसले नयाँ पुस्तामा आशा र परिवर्तनको चेतना जगाएको छ।
ढुंगानाले देशका युवाहरू र परिवर्तन चाहने सबै नागरिकलाई आफूहरूसँग जोडिन आह्वान गर्दै भनेका छन्, “देश अहिले गम्भीर अवस्थामा छ। ७८ जना नेपालीले आफ्नो ज्यान गुमाइसकेका छन्। अब देश निकाश खोजिरहेको छ र हामी त्यो निकाश दिलाएरै छोड्छौँ।”
नयाँ दलको नाम र संरचनाबारे जानकारी शनिबारको पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बताइएको छ।