काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको आयोगमा उपस्थित भएका पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। सचिवालयमार्फत बुझाइएको उक्त धारणा पत्रमा लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूबाट कुनै आदेश नदिइएको स्पष्ट दाबी गरेका छन्।
लेखकका अनुसार भदौ २२ गते सुरक्षा समितिको बैठक बोलाई ‘कुनै पनि हालतमा मानवीय क्षति नहोस्’ भन्ने निर्देशन दिइएको थियो। संयमता अपनाउन सुरक्षानिकायलाई आग्रह गरिएको भए पनि शान्तिपूर्ण ‘जेनजी’ आन्दोलनलाई लोकतन्त्र विरोधी तत्त्वले हाइज्याक गरेको उनको भनाइ छ।
आयोगसमक्ष पेश गरिएको जवाफमा उनले गृहमन्त्रीको भूमिका नीतिगत निर्देशनसम्म सीमित हुने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीहरूको जिम्मेवारीभित्र पर्ने उल्लेख गरेका छन्। गोली चलाउने वा बल प्रयोग गर्ने निर्णय आफूले नगरेको लेखकको स्पष्टिकरण छ।
राज्यका प्रमुख अङ्गहरूमाथि भएको आक्रमणलाई उनले लोकतन्त्र कमजोर पार्ने उद्देश्यसहितको सुनियोजित प्रयासको संज्ञा दिएका छन्। घटनामा युवाहरूको ज्यान गएको विषयले आफू गहिरो रूपमा मर्माहत भएको उल्लेख गर्दै नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिएको कुरा पनि उनले स्मरण गराएका छन्।
पूर्वगृहमन्त्री लेखकको यो लिखित धारणा सार्वजनिक भएसँगै भदौको घटनालाई लिएर राजनीतिक तथा सार्वजनिक बहस थप चर्किने संकेत देखिएको छ।