गर्ज बहादुर गुरुङको नेतृत्वमा नेपाल भूतपूर्व सैनिक संघको स्पष्ट सन्देश

ecopolinews.com

काठमाडौं। नेपालको जटिल र चुनौतीपूर्ण राजनीतिक परिवेशमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउने उद्देश्यसहित आयोजना हुन लागेको विशेष महाधिवेशनप्रति नेपाल भूतपूर्व सैनिक संघले औपचारिक रूपमा समर्थन जनाउँदै सहभागिताका लागि सशक्त अपिल गरेको छ।

संघका अध्यक्ष गर्ज बहादुर गुरुङको हस्ताक्षरसहित जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधानअनुसार आह्वान गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनलाई सफल बनाउन देशभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ— हालको परिस्थितिमा पार्टी पुनर्निर्माण, समसामयिक नीति निर्माण र सक्षम नेतृत्व चयन अत्यावश्यक रहेकाले यही पुस २७ र २८ गते काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको हो। यस ऐतिहासिक प्रक्रियामा नेपाल भूतपूर्व सैनिक संघका १०० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरमार्फत ऐक्यबद्धता जनाइसकेको उल्लेख गर्दै संघ पार्टी र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट सन्देश दिएको छ।

अध्यक्ष गर्ज बहादुर गुरुङले राष्ट्र, लोकतन्त्र र पार्टीप्रतिको निष्ठालाई पुनः पुष्टि गर्दै विशेष महाधिवेशनलाई सफल बनाउनु आजको साझा दायित्व भएको बताएका छन्। अनुभवी, अनुशासित र राष्ट्रसेवामा समर्पित भूतपूर्व सैनिकहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा संघले लिएको यो स्पष्ट र निर्भीक धारणा नेपाली कांग्रेसभित्रको एकता र पुनर्जागरणको संकेतका रूपमा हेरिएको छ।

विज्ञप्तिको अन्त्यमा अध्यक्ष गुरुङले सबै तह र तप्काका नेता–कार्यकर्तालाई एकताबद्ध भई ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन हार्दिक अनुरोध गर्दै राष्ट्रप्रेमको भावसहित सन्देश दिएका छन्।

यसरी, गर्ज बहादुर गुरुङको नेतृत्वमा नेपाल भूतपूर्व सैनिक संघले दिएको यो सशक्त सन्देशले विशेष महाधिवेशनलाई निर्णायक मोडतर्फ लैजाने अपेक्षा गरिएको छ।


प्रतिक्रिया