चाम्लिङ कम्प्लेक्स प्रकरण - डोजर रोक्ने को हुन् ती ‘शक्तिशाली’ पात्र?

ecopolinews.com

काठमाडौं । सरकारी जमिन अतिक्रमण विरुद्ध सरकारको आक्रामक अभियान चलिरहँदा आज अनामनगरस्थित रुद्रमती कोरिडोरमा एउटा फरक दृश्य देखियो। घट्टेकुलो खण्डमा रहेको साततल्ले ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउन पुगेको डोजर बीचैमा रोकिएपछि त्यसले नयाँ चर्चा र विवाद पैदा गरेको छ।

डोजर चल्दाचल्दै काम रोकिनुको पछाडि भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालको सचिवालयका दुई प्रभावशाली सदस्यको 'अर्थपूर्ण' उपस्थितिलाई मुख्य कारण मानिएको छ।

सचिवालयका सदस्यहरूको सक्रियता

भवन भत्काउने कार्य भइरहेका बेला स्थलगत खटनपटनमा देखिएका दुई पात्र थिए— पारस क्षेत्री र सन्तोष पाण्डे।

पारस क्षेत्री: मन्त्री लम्सालका स्वकीय सचिव, जो तस्बिरमा खैरो ज्याकेटमा देखिएका छन्।

सन्तोष पाण्डे: प्रधानमन्त्री बालेन्द्र शाहका निकट मानिने र मेयर हुँदादेखि नै साथमा रहेका व्यक्ति।

यी दुवैजना वर्तमान सत्ता र शक्ति केन्द्रका विश्वासपात्र हुन्। उनीहरूले दिएको निर्देशन लगत्तै धमाधम चलिरहेको डोजर रोकिएको सुरक्षा स्रोतको दाबी छ।

किन रोकियो त डोजर?

भवन पूर्ण रूपमा भत्काउन छाडेर डोजर फिर्ता हुनुमा सुरक्षा र प्राविधिक कारणहरू पनि जोडिएका छन्। सुरक्षा स्रोतका अनुसार:

१. सार्वजनिक सडकको सुरक्षा: साततल्ले ठूलो संरचना भएकाले यसलाई पूर्ण रूपमा भत्काउँदा नजिकैको सार्वजनिक सडकमा ठूलो क्षति पुग्ने जोखिम थियो।

२. छिमेकी घरहरूको संवेदनशीलता: कम्प्लेक्ससँगै जोडिएका अन्य निजी घरहरूमा समेत धक्का पुग्ने र क्षति हुने देखिएपछि सुरक्षा निकाय सतर्क बनेको थियो।

शक्तिको दबाब कि प्राविधिक आवश्यकता?

सरकारी जग्गा फिर्ता ल्याउने अभियानमा प्रधानमन्त्री र मन्त्रीको सचिवालयका सदस्यहरू आफैँ मैदानमा उत्रिएर डोजर रोक्नुलाई कतिपयले "शक्तिको दुरुपयोग"का रूपमा हेरेका छन् भने कतिपयले यसलाई "थप क्षति हुन नदिने सावधानी"का रूपमा विश्लेषण गरेका छन्।

जे भए पनि, चाम्लिङ कम्प्लेक्सको आधा भत्किएको संरचना र त्यहाँ देखिएको सचिवालयको सक्रियताले काठमाडौंको अतिक्रमण हटाउने अभियानमा नयाँ मोड ल्याइदिएको छ। Source: nepalpress

प्रतिक्रिया