नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले सिंहदरबारमै पहिलो निर्णय—डेडिकेटेड र ट्रङ्कलाइन बक्यौता तत्काल उठाउने घोषणा
काठमाडौं । ऊर्जा तथा जलस्रोत मन्त्रीका रूपमा नियुक्त कुलमान घिसिङले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोगबापत बाँकी रहेको बक्यौता तत्काल असुली गर्ने निर्णय भएको जानकारी दिए।
“देश अहिले आर्थिक र राजनीतिक रूपमा चुनौतीपूर्ण अवस्थामा छ। यस्तो बेला व्यवसायीहरू तथा विदेशमा रहेका नेपालीले पनि सहयोग गर्नुपर्छ,” मन्त्री घिसिङले भने, “बक्यौता उठाउने निर्देशन दिइएको छ, यो ढिलाइ गर्न नहुने काम हो।”
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा समेत घिसिङले यही विषयमा कठोर अडान लिएका थिए। त्यतिबेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग यसै मुद्दामा उनको ठूला विवाद भएको थियो।
बक्यौता असुलीमा दृढ रहँदा तत्कालीन मन्त्री दीपक खड्काले पटक–पटक स्पष्टीकरण मागेका थिए। तर अडान नछाडेकै कारण उनको कार्यकाल पूरा हुनुअघि नै पदबाट हटाइएको थियो।