रविन्द्र कट्टेल - काठमाडौं। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं-७ मा नेपाली काँग्रेसको अभियान अभूतपूर्व गतिमा अघि बढिरहेको छ। तरुण दल केन्द्रीय सदस्य दिपेश धितालको ऊर्जाशील नेतृत्व र प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रमोद हरी गुरागाईंको अनुभवी, संयमित राजनीतिक छविको समन्वयले चुनावी वातावरणलाई काँग्रेसपक्षीय बनाउँदै लगेको विश्लेषण भइरहेको छ।
धितालले युवा पंक्तिलाई संगठित गर्दै “घर-घर काँग्रेस, टोल-टोल विकास” अभियानलाई तीव्र पारेका छन्। उनी नेतृत्वमा रहेको टोलीले नीति-संवाद, टोलसभा, व्यवसायी भेटघाट र डिजिटल अभियानमार्फत विकासको स्पष्ट एजेण्डा जनतामाझ पुर्याइरहेको छ। धितालको सन्देश स्पष्ट छ-राजनीति परिवर्तनको माध्यम हो, र परिवर्तनको केन्द्र युवा ऊर्जा हो।
उता उम्मेदवार प्रमोद हरी गुरागाईंले काठमाडौं-७ लाई व्यवस्थित, सुरक्षित र समृद्ध निर्वाचन क्षेत्र बनाउने ठोस प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनको विकास खाकामा आधुनिक सडक तथा ढल व्यवस्थापन, सुरक्षित खानेपानी, ट्राफिक सुधार, हरित खुला स्थान संरक्षण, सामुदायिक विद्यालयको गुणस्तर उकास्ने कार्यक्रम, स्थानीय स्वास्थ्य चौकी सुदृढीकरण, महिला तथा युवा उद्यमशीलता प्रवर्द्धन र पारदर्शी बजेट कार्यान्वयन प्रमुख प्राथमिकतामा छन्।
धिताल-गुरागाईं समन्वयले काँग्रेसको मूल आदर्श-राष्ट्रियता, लोकतन्त्र र समाजवाद-लाई व्यवहारिक योजनासँग जोडेको छ। “स्थिरता बिना विकास सम्भव छैन, र विकास बिना समृद्धि सम्भव छैन,” भन्ने साझा धारणा उनीहरूको अभियानको केन्द्रीय सन्देश बनेको छ।
युवालाई विदेश पलायनबाट रोक्न सीपमूलक तालिम, स्टार्टअप प्रोत्साहन कोष र सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी बनाउने योजना सार्वजनिक गर्दै काँग्रेसले काठमाडौं-७ लाई अवसर र सम्भावनाको केन्द्र बनाउने लक्ष्य राखेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार धितालको संगठनात्मक क्षमता र गुरागाईंको परिपक्व नेतृत्वले काँग्रेसलाई बलियो जनआधार दिलाइरहेको छ। मतदातामाझ स्पष्ट सन्देश दिइएको छ-स्थिर सरकार, सुशासन र दिगो विकासका लागि रुख चिन्हमा मतदान गरी प्रमोद हरी गुरागाईंलाई अत्यधिक बहुमतले विजयी गराऔँ।
काठमाडौं-७ मा यसपटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया नभई विकास, पारदर्शिता र समृद्धिको भविष्य निर्धारण गर्ने निर्णायक अवसरका रूपमा हेरिएको छ।