नेप्से कर्मचारीको क्रान्ति: अध्यक्ष र सीईओलाई कार्यालयमै कैद, प्रहरीद्धारा राति उद्धार

ecopolinews.com

काठमाडौँ, असोज ९ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी आन्दोलित भएका छन्। विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले मङ्गलवार साँझसम्म नेप्सेका अध्यक्ष मेहनत बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँलाई कार्यालयमै बस्न बाध्य पारेका थिए।

नेप्से स्रोतका अनुसार, ‘हिजो दिनभर कर्मचारीहरू आन्दोलनमा थिए। उनीहरूले कार्यकक्षमै धर्ना दिँदै अध्यक्ष र सीईओलाई रोक्न खोजेका थिए। राति १२ बजे प्रहरी आइपुगे र उहाँहरूलाई उद्धार गरेको हो।’

प्रहरीको हस्तक्षेपपछि अध्यक्ष र सीईओ बुधवार कार्यालयमा उपस्थित थिएनन्। प्रहरीले उनीहरूलाई कार्यालयबाट लिएर प्रहरी निवास पुर्‍याएको जानकारी दिइएको छ।

तर, नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाले कार्यालयमै थुनेको आरोप असत्य भएको दाबी गरेका छन्। उनले भने, ‘हामी कर्मचारीहरू सबै कार्यालयमै थियौँ। नेप्से सुधारका लागि विभिन्न माग राख्दै धर्नामा बसेका हौँ। छलफल निष्कर्षमा नपुग्दा प्रहरी आएर उहाँहरूलाई लिएर गएको हो।’

थापाका अनुसार, कर्मचारीहरूले नेप्से जोगाउने उद्देश्यका साथ आन्दोलन सञ्चालन गरेका थिए। उनका अनुसार अध्यक्ष र सीईओले राजनीति गरेर नेप्से बेच्ने प्रयास गरेको भन्दै कर्मचारीहरू सक्रिय भएका हुन्।

प्रतिक्रिया