भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा, बन्दसत्र औपचारिक रूपमा सुरु

ecopolinews.com

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। पार्टीको आन्तरिक राजनीति र आगामी नेतृत्वको दिशा तय गर्ने महत्वपूर्ण मानिएको बन्दसत्र ढिलोगरी झन्डै साढे ११ बजे प्रारम्भ भएको हो।

बन्दसत्र सुरु हुँदा दुवै महामन्त्री—गगन थापा र विश्वप्रकाश शर्मा—हलमा उपस्थित भइसकेका छन्। विश्वप्रकाश शर्मा बिहानैदेखि महाधिवेशनस्थलमा रहे पनि महामन्त्री थापा भने केही समयअघि मात्रै भृकुटीमण्डप आइपुगेका हुन्। उनीहरूको उपस्थितिले बन्दसत्रलाई थप अर्थपूर्ण र राजनीतिक रूपमा चासोपूर्ण बनाएको छ।

आज बिहान ८ बजे नै बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिहरूको नाम दर्तालगायत प्राविधिक प्रक्रिया पूरा हुन नसक्दा निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिला गरी सत्र सुरु भएको हो।

केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा त्यसप्रति असहमति जनाउँदै महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरिएको हो। यही मतभेदका कारण विशेष महाधिवेशन कांग्रेसभित्रको शक्ति सन्तुलन, नेतृत्वको दृष्टिकोण र आगामी राजनीतिक बाटोबारे निर्णायक बहसको थलो बनेको छ।

बन्दसत्रमा उठ्ने प्रस्ताव, बहस र निष्कर्षले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया