फेसबुकको माउ कम्पनी मेटाको नेपाल सरकारसँग सम्पर्क

ecopolinews.com

काठमाडौँ — नेपाल सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै फेसबुकको माउ कम्पनी मेटाले सक्रिय पहल थालेको छ। बिहीबार साँझ मेटाको सिंगापुरस्थित एक प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरी नेपालमा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका हुन्।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, उक्त प्रतिनिधिले मन्त्री पृथ्वीसुब्बा गुरूङको सचिवालयमा सम्पर्क गर्दै कानुनी प्रक्रिया र आवश्यक शर्तबारे छलफल गरेका थिए। यसलाई नेपालमा सूचीकरण प्रक्रियाप्रति मेटाको चासोको संकेतका रूपमा हेरिएको छ।

यसअघि बिहीबारै बिहान मन्त्री गुरूङले फेसबुक, एक्स (ट्विटर), युट्युब, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाललाई तत्काल बन्द गर्ने निर्णय गरेका थिए। निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ भने सेवा प्रदायक कम्पनीहरूलाई पत्राचारमार्फत कार्यान्वयनको तयारी गर्न भनिएको छ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै नेपालभित्र ठूलो बहस सुरु भएको छ। आलोचकहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक वातावरणमाथिको ठुलो प्रहार भनेका छन् भने सरकार पक्षले भने “अव्यवस्थित र अनियन्त्रित प्रयोगलाई कानुनी दायरामा ल्याउने” आवश्यक कदमका रूपमा व्याख्या गरेको छ।

मेटाको यो कदमले नेपाल र विश्वका प्रमुख प्रविधि कम्पनीबीच प्रत्यक्ष संवादको सुरुवात भएको देखिन्छ। अब फेसबुक–मेटाले मागेका कागजात बुझेर नेपाल सरकारले सूचीकरण प्रक्रियालाई कसरी अगाडि बढाउँछ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया