फागुन २१ मै देशभर एकै चरणमा निर्वाचन हुने प्रधानमन्त्री कार्कीको स्पष्ट घोषणा

ecopolinews.com

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभएको छ। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताउनुभयो।

मतपत्र छपाइको प्रगति अवलोकनपछि प्रधानमन्त्री कार्कीले निर्वाचनको माहोल देशभर बनिसकेको उल्लेख गर्दै भन्नुभयो,

“मतपत्र छपाइ हेर्दा निकै उत्साह जाग्यो। अब जनताले छाप लाउन मात्रै बाँकी छ। प्रेसका कर्मचारीहरूले अत्यन्तै राम्रो काम गर्नुभएको छ।”

निर्वाचनका चार खम्बामध्ये निर्वाचन आयोग प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले चुनाव तोकिएकै मितिमा, एकै दिन र एकै चरणमा हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो।

“तपाईंहरू निश्चिन्त हुनुस्—चुनाव एउटै र एकै दिनमा हुन्छ। दुईचोटी मतदान हुनेवाला कहीँ छैन। तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ,” उहाँले जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले निर्वाचनको दिन मौसम पनि अनुकूल रहने विश्वास व्यक्त गर्दै समग्र वातावरण सकारात्मक बनेको बताउनुभयो।

“हामी सबैले मतदान गर्न पाउँछौँ। नतिजा आएपछि नयाँ सरकार बन्छ। त्यसपछि हामीले सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्ना घरतिर जान्छौँ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्रीको यो स्पष्ट सन्देशसँगै देशभर निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र एकै चरणमा हुने चुनावप्रति जनविश्वास थप बलियो बनेको देखिएको छ।

प्रतिक्रिया