रविन्द्र कट्टेल - नुवाकोट - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अस्थायी रूपमा बन्द भएको लक्ष्मी सनराइज बैंक लिमिटेडको बट्टार शाखा पुनः सञ्चालनमा आएको छ।
बैंकले जारी गरेको सूचनाअनुसार २०८३ भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका-२ स्थित बट्टार शाखा अस्थायी रूपमा बन्द गरिएको थियो। आवश्यक व्यवस्थापन पूरा गरेपछि २०८३ भदौ १५ गतेदेखि शाखा पुनः सञ्चालनमा आएको बैंकले जनाएको छ।
यसैबीच, बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति बैंकले गहिरो दुःख तथा श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, विपद्मा परी घाइते भएका, बेपत्ता रहेका तथा आफ्नो घरपरिवार र सम्पत्ति गुमाएर पीडामा रहेका सबैप्रति बैंकले हार्दिक सहानुभूति र ऐक्यबद्धता प्रकट गरेको छ।
टिमुरे शाखा क्षतिग्रस्त, वैकल्पिक शाखाबाट सेवा
भोटेकोशी बाढीबाट रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा पनि क्षतिग्रस्त भएको बैंकले जनाएको छ। उक्त शाखाबाट सेवा लिन नसक्ने अवस्थामा रहेका ग्राहकले बट्टार वा बैंकको अन्य कुनै पनि शाखाबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
प्राकृतिक विपत्तिले जनधनसँगै भौतिक तथा वित्तीय संरचनामा समेत ठूलो क्षति पुर्याएको अवस्थामा बैंकले प्रभावित ग्राहकलाई वैकल्पिक माध्यमबाट बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ।
“विपद्मा पीडित नागरिकको साथमा बैंक” भन्ने भावनासहित बैंकिङ सेवा निरन्तरता दिनुका साथै बाढीबाट प्रभावित परिवार, घाइते, बेपत्ता तथा मृतकका परिवारप्रति सहानुभूति व्यक्त गरिएको बैंकको सूचनाले जनाएको छ।