किभमा रूसको भीषण आक्रमण: बालबालिकासहित २१ को मृत्यु, विश्वभरबाट कडा निन्दा

ecopolinews.com

 रुसले युक्रेनको राजधानी किभमा भीषण हवाई आक्रमण गर्दै फेरि रक्तपात मच्चाएको छ। पूर्ण आक्रमण शुरू भएको यताकै दोस्रो ठूलो हवाई आक्रमणमा चार बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको छ। सीएनएनका अनुसार बिहीबार राति भएको यस आक्रमणमा युरोपेली संघ (EU) र ब्रिटिश काउन्सिलका भवनहरू समेत क्षतिग्रस्त भएका छन्। यस घटनापछि ईयू र बेलायतले आ-आफ्ना राजधानीमा रहेका शीर्ष रूसी कूटनीतिज्ञहरूलाई तत्काल स्पष्टीकरणका लागि बोलाएका छन्।

युक्रेनको वायु सेनाले क्रेमलिनले केवल एक रातमै ६२९ हवाई आक्रमण गरेको जनाएको छ, जसमा ५९८ ड्रोन र ३१ मिसाइलहरू प्रयोग भएका थिए। यो जुन महिनायता राजधानीमाथि भएको सबैभन्दा ठूलो र घातक आक्रमण मानिएको छ।

मृतकहरूको ठूलो संख्या किभको दक्षिणपूर्वी दार्नित्स्की जिल्लामा रहेको पाँचतले आवासीय भवन भत्किँदा भएको हो। बिहान करिब ३ बजे क्षेप्यास्त्रले सो भवनलाई लक्ष्य बनाएपछि ठूलो संख्यामा सर्वसाधारण मारिएका छन्।

रुसको रक्षा मन्त्रालयले “उच्च-प्रविधिका हतियारहरू प्रयोग गरिएको” स्वीकार गरेको छ।

युरोपेली संघकी कार्यकारी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि भएको यो सबैभन्दा घातक आक्रमणप्रति तीव्र आक्रोश व्यक्त गर्दै रूसले निर्दोष नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको आरोप लगाइन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “मस्कोले वार्ताको टेबल होइन, ब्यालिस्टिक मिसाइल रोजेको छ” भन्दै रूसविरुद्ध अझ कडा प्रतिबन्ध आवश्यक भएको दोहोर्‍याए। किभका मेयरले एक दिनको शोक घोषणा गरेका छन्।

यसैबीच बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले राष्ट्रपति भ्लादिमिर पुटिनलाई “शान्तिको आशामाथि तुषारापात गरेको” आरोप लगाए। ईयूकी विदेश नीति प्रमुख काजा कालासले यस आक्रमणलाई योजनाबद्ध रूपमा तनाव बढाउने र शान्ति प्रयासहरूको खिल्ली उडाउने कदमको रूपमा वर्णन गरिन्।

अमेरिकी विशेष दूत किथ केलोगले “आवासीय क्षेत्रमा भएको यो हमला राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको शान्तिलाई नै खतरामा पार्ने” बताए। जर्मन चान्सलर फ्रिड्रिक मेर्जले भने, “रुसले फेरि आफ्नो वास्तविक अनुहार देखाएको छ” भन्दै कडा शब्दमा निन्दा गरे।

यस आक्रमणले युक्रेनमाथिको युद्ध अझै दीर्घकालीन र भयावह दिशामा जान सक्ने संकेत दिएको विश्लेषकहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया