काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जेन–जी प्रदर्शन हिंसात्मक बनेको परिस्थितिमा अब कांग्रेस सरकारमा बस्न उपयुक्त नभएको भन्दै आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।
कोइरालाले मन्त्री तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारीलाई राजीनामा दिन तयारी अवस्थामा रहन भनेका छन्। साथै, प्रदीप पौडेलले समेत राजीनामा दिने सम्भावना रहेको कोइरालाका निकट स्रोतले बताएका छन्।
चीन भ्रमणमा रहेका कोइराला एक साताको निर्धारित तालिका छोट्याएर छिट्टै स्वदेश फर्कन लागेका छन्। यसअघि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी स्वीकार गर्दै सोमबार राजीनामा दिएका थिए।
जेन–जी पुस्ताको आन्दोलन थप उग्र बन्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्।
२४ भदौ २०८२, मङ्गलबार ०९:४८ मा प्रकाशित