काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वप्रसिद्ध ब्याट्सम्यान फाफ डु–प्लेसी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइज टोलीहरूले अनुबन्ध गरेका उनी यो सिजनका सबैभन्दा चर्चित र स्टार विदेशी खेलाडी बनेका छन्।
डु–प्लेसीले दक्षिण अफ्रिकाका लागि ५० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले १ शतक र १० अर्धशतकसहित १,५२८ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले ४२४ खेलमा ११,९०६ रन प्रहार गरेका छन्।
सन् २०१२ देखि २०१९ सम्म दक्षिण अफ्रिकाको टी–२० टिमका कप्तान रहेका उनले एकदिवसीय र टेस्ट दुवै प्रारूपमा पनि टोलीको नेतृत्व गरेका थिए। ४१ वर्षीय डु–प्लेसीले एकदिवसीय क्रिकेटमा १२ शतकसहित ५,५०७ रन र टेस्ट क्रिकेटमा १० शतकसहित ४,१६३ रन बनाएका छन्।
उनले चेन्नई सुपर किङ्सबाट सन् २०१८ र २०२१ मा इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेका थिए। सन् २०२१ को फाइनलमा कोलकाता नाइट राइडर्सविरुद्ध ८६ रनको उत्कृष्ट इनिङ्स खेलेका उनी प्लेयर अफ दी म्याच बनेका थिए।
हालसालै उनको कप्तानीमा सेन्ट लुसीया किङ्सले २०२४ को क्यारेबियन प्रिमियर लिग (CPL) उपाधि जितेको थियो।
नेपालमा उनको आगमनसँगै एनपीएलको दोस्रो संस्करणमा उत्साह र आकर्षण झन् बढ्ने निश्चित देखिएको छ।