लमजुङ । जनादेश पार्टी नेपाल बाट मोबाइल चुनाव चिन्ह लिई लमजुङ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मिलन बास्कोटाले आफूलाई विकास र युवाको भविष्यप्रति प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी व्यक्तिगत चाहना नभई लमजुङको समग्र विकासको जिम्मेवारी भएको बताएका छन्।
“यो उम्मेदवारी मेरो व्यक्तिगत चाहना होइन, लमजुङको विकास र युवाको भविष्यको जिम्मेवारी हो,” उनले उल्लेख गरेका छन्।
बास्कोटाले अबको राजनीति आश्वासनमा सीमित नभई काममा आधारित हुनुपर्नेमा जोड दिएका छन्। “अब आश्वासन होइन, कामको राजनीति चाहिन्छ। अब सत्ता होइन, सेवा चाहिन्छ,” भन्ने नारासहित उनले मतदातासमक्ष नयाँ सोच र कार्यशैलीको प्रतिबद्धता व्यक्त गरेका छन्।
युवापुस्तालाई केन्द्रमा राख्दै अघि बढ्ने योजना रहेको बताउँदै उनले लमजुङलाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अघि बढाउने लक्ष्य लिएका छन्। “लमजुङ बलियो बनाऔँ, नेपाल बलियो बनाऔँ” भन्ने उद्घोषसहित उनले समग्र जिल्लाको समृद्धिका लागि सबैको साथ र विश्वासको अपेक्षा गरेका छन्।
उनको उम्मेदवारी घोषणासँगै लमजुङको राजनीतिक माहोल थप तातिएको छ भने स्थानीय मतदातामाझ नयाँ विकल्पको रूपमा उनको चर्चा सुरु भएको छ। उहाँले मोबाइल चिन्हमा भोट दिई भारी मतका साथ विजयी गराउन अनुरोध गरेका छन्।