अमेरिकाको जर्जिया राज्यस्थित निर्माणाधीन हुन्डाई–एलजी ब्याट्री कारखाना अचानक आक्रान्त पर्यो, जब अमेरिकी आप्रवासन अधिकारीले विशाल छापा मार्दै करिब ४७५ जना आप्रवासीलाई नियन्त्रणमा लिए।तीमध्ये तीन सयभन्दा बढी दक्षिण कोरियाली नागरिक रहेको पुष्टि भएको छ।
विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार, यो “सामान्य आप्रवासन छापा नभई गम्भीर संघीय अपराध र अवैध रोजगारसम्बन्धी लामो अनुसन्धानको परिणाम” हो। पक्राउ परेकाहरूलाई अब देशनिकालाको प्रकृयामा अघि बढाइने भएको
छ।सउलमा आपतकालीन बैठक, चो ह्युनको चेतावनी
घटनापछि सउलस्थित विदेश मन्त्रालयमा आपतकालीन बैठक बस्दै विदेशमन्त्री चो ह्युनले भने,
“हामी गहिरो चिन्तित छौं। आवश्यक परे म आफैं वासिङ्टन पुगेर वार्ता गर्न तयार छु।”
प्रवक्ता ली जे–वुङले अमेरिकालाई सचेत गराउँदै भने,
“हाम्रो लगानीकर्ताको आर्थिक गतिविधि र नागरिकको अधिकार अमेरिकी कानुनी प्रक्रियामा अन्यायपूर्वक हानि हुनु हुँदैन।”
कम्पनीमा ठूलो धक्का
एलजी एनर्जी सोलुसनले पुष्टि गरेअनुसार, पक्राउ परेकामध्ये ४७ जना प्रत्यक्ष कर्मचारी हुन् — ४६ जना दक्षिण कोरियाली र १ जना इन्डोनेसियाली। साथै, करिब २५० जना ठेकेदारमार्फत खटाइएका कामदार रहेका छन्।
कम्पनीले अमेरिकातर्फका सबै गैर–आवश्यक भ्रमण तत्काल स्थगित गर्ने घोषणा गरेको छ।
अर्बौं डलरको लगानी संकटमा?
दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ। गत महिना राष्ट्रपति ली जे–म्युंगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरी उद्योग विस्तारलाई रणनीतिक साझेदारीको रुपमा प्रस्तुत गरेका थिए।
तर, ट्रम्प प्रशासनले “निर्माण क्षेत्रमा रोजगारी पुनःजागृत गर्ने” र “अवैध आप्रवासीलाई देशनिकाला गर्ने” नीतिलाई कडाइका साथ अघि बढाइरहेकाले, यो घटना दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा ठूलो चुनौती बन्ने विश्लेषकहरूको चेतावनी छ।