काठमाडौं ।
देश राजनीतिक संक्रमणको संवेदनशील घडीबाट गुज्रिरहेका बेला अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् विस्तार गरिएको छ।
आज बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीनजना मन्त्रीहरूलाई शपथ ग्रहण गराए। मन्त्रीमा अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याल, पूर्वअर्थसचिव रामेश्वर खनाल, र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त भएका हुन्।
नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन अनुसार,
अर्यालले गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।
खनाललाई अर्थ मन्त्रालयको बागडोर दिइएको छ।
घिसिङले भने ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।
भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले पुरानो सत्ता समीकरण उल्टाइदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो।
नयाँ मन्त्रीहरूको प्रवेशसँगै अन्तरिम सरकारलाई राजनीतिक स्थिरता र प्रशासनिक कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ।