अविश्वासको छायामा इस्लामावाद वार्ता; किन सफल हुन सकेन शान्ति प्रयास?

ecopolinews.com

नरेन्द्र शाही - इस्लामावाद: २१ घण्टा लामो सघन संवाद र विश्वकै नजर टिकेको इरान-अमेरिका वार्ता अन्ततः कुनै ठोस निष्कर्षविना नै टुङ्गिएको छ। वार्ता असफल हुनुको मुख्य कारक 'अविश्वास' (Trust Deficit) देखिएको छ। वार्ताको टेबलमा बस्नुअघि नै इरानी वार्ताकार मोहम्मद बागेर गालिबाफले भनेका थिए- "हामीसँग सद्भाव छ, तर भरोसा छैन।" यही मानसिकताले २१ घण्टा लामो कूटनीतिक कसरतलाई निष्कर्षहीन बनाइदियो।

किन असफल भयो त वार्ता?

विगतको घाउ: इरानी पक्षका लागि 'शान्ति वार्ता' सैन्य आक्रमणको एउटा आवरण मात्र बन्ने गरेको इतिहास छ। गत फेब्रुअरी २८ मा जेनेभा वार्ता सकारात्मक भनिएकै बेला अमेरिका र इजरायलले इरानमाथि घातक आक्रमण गरेका थिए। त्यसैले अहिलेको वार्तामा अमेरिकाले राखेका हरेक प्रस्तावलाई इरानले एउटा 'जाल' (Trap) का रूपमा बुझ्यो।

अतिरञ्जित सर्तहरू: अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले आफ्नो प्रस्तावलाई 'अन्तिम र उत्कृष्ट' भने पनि इरानले त्यसलाई 'एकपक्षीय' र अपमानजनक ठान्यो। विशेषगरी इरानले पहिले नै अस्वीकार गरिसकेका पुराना सर्तहरू अमेरिकाले पुनः दोहोर्‍याउनु वार्ता भाँडिने कारण बन्यो।

इजरायली भूमिका: लेबनानमाथि भइरहेको इजरायली आक्रमणलाई रोक्न वा नियन्त्रण गर्न वासिङ्टनले देखाएको अनिच्छाले तेहरानलाई थप चिढ्यायो।

अबको परिदृश्य: युद्धविराम झन् जोखिममा

इस्लामावाद वार्ताको असफलताले हालै घोषणा गरिएको अस्थायी युद्धविरामलाई अझ कमजोर र नाजुक बनाइदिएको छ। वार्ता असफल हुनुको अर्थ मध्यपूर्वमा फेरि जुनसुकै बेला ठूलो सैन्य मुठभेड सुरु हुन सक्ने खतरा बढेको छ।

यद्यपि, मध्यस्थकर्ता मुलुक पाकिस्तानले भने आफ्नो प्रयास नछाड्ने बताएको छ। पाकिस्तानले दुवै पक्षलाई पुनः संवादमा ल्याउन पहल गरिरहने जनाए पनि विश्लेषकहरू भन्छन्- "जबसम्म मुख्य मुद्दाहरूमा लचकता र एकअर्काप्रतिको नियतमा परिवर्तन आउँदैन, वार्ताको परिणाम फेरिने सम्भावना न्यून छ।"

निष्कर्ष: इस्लामावादको जिन्हा सम्मेलन केन्द्रबाट दुवै टोली रित्तो हात फर्किएका छन्। यसले कूटनीतिमा 'शक्ति' भन्दा 'विश्वास' ठूलो हुन्छ भन्ने पुनः पुष्टि गरेको छ।

प्रतिक्रिया