पोखराबाट नयाँ पर्यटन सन्देश: भारत–नेपाल सहकार्यले के परिवर्तन ल्याउँदैछ?

ecopolinews.com

कास्की । भारत र नेपालको पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित पोखरामा दोस्रो ‘इन्डिया–नेपाल टुरिजम मिट’ सम्पन्न भएको छ। काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा बिहीबार आयोजित उक्त कार्यक्रम गण्डकी प्रदेश र भारतको उत्तर प्रदेशबीचको पर्यटकीय सम्बन्ध विस्तारमा केन्द्रित रह्यो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथजस्ता प्रमुख गन्तव्यमा भारतसँग बढ्दो सहकार्यले क्षेत्रीय पर्यटनलाई बलियो बनाएको बताए। उनले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको साझा सम्भावनालाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

भारतीय दूतावासका उप–नियोग प्रमुख डा. राकेश पाण्डेले पछिल्लो समय कनेक्टिभिटीमा आएको सुधारले दुई देशबीचको आवागमन सहज बनेको उल्लेख गरे। धार्मिक तथा सांस्कृतिक सर्किटहरूको संयुक्त प्रवर्द्धनमार्फत नेपाल–भारत पर्यटनलाई दिगो र लाभदायी बनाउन सकिने उनको भनाइ थियो।

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटकीय सर्किट, आगामी माघ मेलालगायतका गतिविधिबारे जानकारी दिँदै पर्यटन नीति कार्यान्वयनका अनुभव साझा गरे। यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा ठूलो रहेको उल्लेख गर्दै उनीहरूलाई लक्षित प्रवर्द्धन रणनीतिहरू प्रस्तुत गरे।

सम्मेलनअन्तर्गत आयोजित बीटुबी सत्रमा भारतका १० र नेपालका ६० पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूबीच स्थलमार्ग पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु तथा साहसिक पर्यटनमा सहकार्यका सम्भावनाबारे गहन छलफल भयो। यसअघि उत्तर प्रदेशबाट आएको प्रतिनिधिमण्डललाई मंसिर २९ देखि पुस २ गतेसम्म पोखरा क्षेत्रको परिचयात्मक भ्रमणसमेत गराइएको थियो।

कार्यक्रमले नेपाल–भारत पर्यटन सहकार्यलाई संस्थागत गर्दै क्षेत्रीय अर्थतन्त्र र जनस्तरीय सम्बन्ध सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया