बाढीले खोसेको मुस्कान खोज्दै काठमाडौंसम्म प्रअ लामिछाने: 'विद्यार्थी फर्काउन १०० बेडको छात्रावास तयार छ'

ecopolinews.com
काठमाडौं । १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीले रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा ठूलो वज्रपात पार्यो। बाढीमा परेर विद्यालयका ४ जना शिक्षक र करिब २०० विद्यार्थी बेपत्ता भएका थिए। समयक्रमसँगै केही सम्पर्कमा आए पनि अझै १०० जना विद्यार्थी र ३ जना शिक्षकको अत्तोपत्तो छैन।

यस्तो कठिन र शोकको घडीमा पनि विद्यालयका प्रधानाध्यापक माधव लामिछाने हिम्मत हारेका छैनन्। शोकलाई शक्तिमा बदल्दै आफ्ना बेपत्ता र विस्थापित विद्यार्थीको खोजीमा उनी आफैं भौतारिइरहेका छन्।

पहिरो, खोला र होल्डिङ सेन्टर धाउँदै प्रअ

विद्यार्थीको खोजतलास र अवस्था बुझ्न प्रअ लामिछाने रसुवा, नुवाकोट हुँदै अहिले काठमाडौंसम्म आइपुगेका छन्। भोगटीटारबाट फलाखु खोलाको झोलुङ्गे पुल तरेर दुई-साढे दुई घण्टाको उकालो हिँड्दै उनी नुवाकोट दरबार क्षेत्रका विभिन्न होल्डिङ सेन्टरहरूमा पुगे।

काठमाडौंमा पनि बाढीबाट विस्थापित भएका र काजकिरिया गर्न आएका अभिभावकसँगै केही विद्यार्थी आएको खबर पाएपछि उनी यहाँ आइपुगेका हुन्।

"हाम्रा विद्यार्थीको अवस्था के छ? कसरी बसिरहेका छन्? भनेर सोधखोज गर्दै भेट्न हिँडेको हुँ। होल्डिङ सेन्टरमा भेट्दा विद्यार्थीहरू खुसी त भए, तर उनीहरूमा अझै त्रास छ। कतिपय फेरि बाढीपहिरो आउने हो कि भन्ने डरले फर्किन मानिरहेका छैनन्," लामिछानेले भने।

बाटोमा बस पर्खिरहेका साना बालबालिकालाई बगायो

नीलकण्ठ मावि अग्लो ठाउँमा रहेकाले विद्यालय भवनमा बाढीले क्षति पुर्‍याउन पाएन। माथिल्लो कक्षाका (६, ७, ८ र १०) विद्यार्थीहरू कोचिङका लागि अघि नै विद्यालय पुगिसकेकाले उनीहरू जोगिए।

तर, तल्लो कक्षा (नर्सरीदेखि ५ सम्म) का साना बालबालिका सडकमा निस्किएर स्कुल बस कुरिरहेका बेला बाढीको चपेटामा परे। कक्षा ३ बाट मात्रै १६ जना विद्यार्थी हराइरहेका छन्।

विद्यालयका ४ जना शिक्षकमध्ये एक जनाको शव पहिचान भई काजकिरिया भइसकेको छ भने बाँकी ३ जना शिक्षक अझै बेपत्ता छन्। कुल ५०८ विद्यार्थी रहेको विद्यालय बिहीबारबाट पुनः सञ्चालन गरिए पनि हाल डेढ सयको हाराहारीमा मात्रै उपस्थित हुन सकेका छन्।

१०० बेडको छात्रावास तयार, सरकारसँग २०० कोटाको माग

आमा-बुवा दुवै गुमाएर अभिभावकविहीन बनेका र घरबारविहीन भएका बालबालिकालाई पुनः विद्यालय ल्याएर अभिभावकत्व दिने योजनामा प्रअ लामिछाने जुटेका छन्। विद्यालयले आफ्नै पहलमा १०० जना विद्यार्थीका लागि ओढ्ने-ओछ्याउने र भान्छाका सामानसहितको आवासीय व्यवस्थापन गरिसकेको छ।

विद्यार्थीहरूलाई पूर्ण सुरक्षा र शैक्षिक निरन्तरता दिनका लागि सरकारसँग थप सहयोगको याचना गरिएको छ:

  • हिमाली आवासीय छात्रावास: सरकारले २०० जनाका लागि हिमाली आवासीय छात्रावासको कोटा स्वीकृत गरिदिए विस्थापित अभिभावक र बालबालिकामा सकारात्मक ऊर्जा थपिनेछ।

  • सुरक्षित बास र पुनःस्थापना: विस्थापित परिवारलाई राख्नका लागि स्थानीय तहले अविलम्ब सुरक्षित जग्गा पहिचान गरी बसोबासको व्यवस्था मिलाउनुपर्नेछ।

  • मनोवैज्ञानिक परामर्श: अभिभावक र आफन्त गुमाएका बालबालिकालाई मानसिक रूपमा तंग्र्याउन विशेष मनोवैज्ञानिक परामर्शको खाँचो छ।

"सबै कुरा गुमाएका यी बालबालिकाको अभिभावकत्व अब गाउँपालिका र विद्यालयले लिनुपर्छ," लामिछानेले भने, "हामी उनीहरूलाई फर्काउन पूर्ण तयारीका साथ पर्खिरहेका छौँ।" onlinekhabar

प्रतिक्रिया