काठमाडौं, माघ २८ - नेकपा (एमाले)का अध्यक्ष तथा झापा-५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहमा तीव्र चुनावी अभियानमा जुट्दैछन्। गौरादह नगर कमिटीको आयोजनामा हुने कार्यक्रममा ओलीले एकै दिन ११ स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
निर्धारित तालिका अनुसार बिहान ११ बजे गौरादहको चारआलीबाट कार्यक्रम सुरु हुनेछ। त्यसपछि पौने १२ बजे पेट्रोलपम्प, साढे १२ बजे डिठा चोक र दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ।
यसैगरी दिउँसो साढे १ बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठके, साढे २ बजे बैराती, ३ बजे जुरोपानी र साढे ३ बजे ग्वालडुब्बामा कार्यक्रम तय गरिएको छ। त्यसैगरी सवा ४ बजे जामबाडी र पौने ५ बजे जयबहादुर अधिकारीको टोलमा भेटघाट कार्यक्रम सम्पन्न गर्ने कार्यसूची रहेको छ।
अध्यक्ष ओलीले टोल-टोलमा आयोजना गरिएका भेटघाट कार्यक्रममा स्थानीयका समस्या सुन्ने, सुझाव ग्रहण गर्ने र समाधानका लागि स्पष्ट प्रतिबद्धता जनाउने गर्दै आएका छन्।
यसअघि हिजो मात्रै उनले पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। लगातारको घरदैलो र भेटघाट अभियानमार्फत ओलीले झापा-५ मा आफ्नो चुनावी सक्रियता तीव्र बनाएका छन्।