लमजुङमा चुनावी सरगर्मी चुलिँदै, विकास र स्थिर नेतृत्वको बहस केन्द्रमा

ecopolinews.com

लमजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहोल तातिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि पुराना स्थापित नेतादेखि नयाँ उत्साही अनुहारसम्म चुनावी मैदानमा उत्रिएका छन्। गाउँदेखि बजारसम्म भेटघाट, घरदैलो, कोणसभा र अन्तरक्रियाले राजनीतिक चहलपहल बढाएको छ।

यसपटकको प्रतिस्पर्धा रोचक र बहुआयामिक देखिएको छ। नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ आफ्नो अनुभव र संगठनात्मक मजबुतीका साथ मैदानमा छन् भने नेपाली काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ विकास, सुशासन र युवामुखी नेतृत्वको स्पष्ट एजेन्डा बोकेर मतदातामाझ पुगिरहेका छन्।

काँग्रेसका गमप्रसाद गुरुङले लमजुङको पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजनासहित मत मागिरहेका छन्। लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका उनी परिवर्तनलाई संस्थागत गर्दै स्थिर र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। उनका कार्यक्रमहरूमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिन थालेको छ, जसले उनको उम्मेदवारीलाई बलियो बनाइरहेको आकलन गरिएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्म केसी, नेकपाका हरिजङ तामाङ, राप्रपा जिल्ला अध्यक्षसमेत रहेका केविन्द्रजङ गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङ, नेपाल मजदुर किसान पार्टीका गुजेश्वरी प्रजापती मगजु, नेकपा (माओवादी)का रविन्द्र नखोला, नेशनल रिपब्लिक नेपालका भरत गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, जनादेश पार्टीका मिलन बास्कोटा तथा स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे पनि आफ्ना-आफ्ना एजेन्डासहित मतदातामाझ सक्रिय छन्।

यसरी हेर्दा लमजुङमा विचार, अनुभव र परिवर्तनको बहसबीच प्रतिस्पर्धा हुँदैछ। सबै उम्मेदवारले आ-आफ्नो दृष्टिकोण प्रस्तुत गरिरहेका भए पनि यसपटक विकासको स्पष्ट खाका, स्थिर नेतृत्व र जिम्मेवार राजनीतिक संस्कारको मुद्दा निर्णायक बन्न सक्ने देखिन्छ। मतदाताले कसलाई विश्वास गर्ने भन्ने फैसला अब मतदानको दिनले गर्नेछ, तर चुनावी अभियानले लमजुङमा राजनीतिक चेतना र बहसलाई थप सशक्त बनाएको छ। स्रोत: लम्जुङ्ग खबर


प्रतिक्रिया