मनोज सिलवालद्वारा चुनौतीसँग सामना गर्ने प्रतिबद्धता: ‘भिड्ने हो, डराउने होइन’

ecopolinews.com
काठमाडौं, ७ असोज – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले जस्तोसुकै चुनौती आए पनि दृढ संकल्पसहित सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले प्राधिकरणमा आठ वर्ष सेवा गरेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री भइसकेकाले काम अझै सहज हुने विश्वास व्यक्त गरे।

सिलवालले भने, “मसँग १२ हजार कर्मचारी छन्, चारवटा सहयोगी ट्रेड युनियन छन्। म पटक्कै विचलित छैन। जे जस्तो चुनौती आउँछ, म पार गर्छु। चुनौतीसँग डराउने होइन, भिड्ने हो।”

उनले सरकारबाट आवश्यक सहयोग पाउने र भविष्यमा जटिल परिस्थितिहरू कम हुने आश्वासन पनि दिएका छन्। “निवर्तमान कार्यकारी प्रमुखज्यू मन्त्री हुनुहुन्छ। नेपाल सरकारबाट पनि सहयोग पाउँछौं। अहिले हामी काम गर्ने अवस्था एकदमै सहज छ। यस्तो परिस्थिति भविष्यमा नआउला,” उनले भने।

सिलवालले आफ्नो नियुक्ति राजनीतिक भएको स्वीकार गर्दै यसमा अर्थ बुझेको बताए। “यो राजनीतिक नियुक्ति हो, यसको अर्थ मैले बुझेको छु। म सधैं बस्छु भनेर आएको होइन। कुनै लोकसेवा लडेर आएको होइन। जति दिन बस्छु काम गर्छु, जुन दिन काम गर्न सक्दिनँ त्यो दिन छाडेर जान्छु। अर्को सरकार आएर छाड भनेको दिन छाड्छु।”

साथै उनले आफ्नो फोटो कार्यालयमा नटाँस्न पनि कर्मचारीलाई आग्रह गरे। “यहाँ कुनै फोटो टाँस्न आवश्यक छैन। मैले राम्रो काम गरेँ भने फोटो टाँस्नुहोला, नत्र पर्दैन,” उनले स्पष्ट पारे।

प्रतिक्रिया