काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनले उठाएको सुशासन, बेथिति अन्त्य र राजनीतिक रूपान्तरणको एजेन्डा अब नेपाली कांग्रेसले अघि बढाउने स्पष्ट पारेका छन्। उनले जेनजी आन्दोलनपछि राजनीतिमा सक्रिय हुने आकांक्षा राखेका नवयुवाहरूलाई कांग्रेसमा आबद्ध हुन आह्वान समेत गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक नेपाली कांग्रेसका रूपमा मान्यता दिएपछि शुक्रबार राति इकोपोली मिडिया सँग कुराकानी गर्दै महामन्त्री पौडेलले जेनजी आन्दोलनको भावना र मर्म आत्मसात् गर्दै कांग्रेस नयाँ चरणको यात्रामा अघि बढ्ने बताए।
उनले भने,
“सुशासन र बेथितिविरुद्ध सडकमा उत्रिएका जेनजी नवयुवाहरूले खोजेको परिवर्तन अब कांग्रेसमार्फत सम्भव छ। त्यसैले जेनजी आन्दोलनका अभियानी युवाहरूलाई कांग्रेससँग सहकार्य गर्दै अघि बढ्न म आह्वान गर्न चाहन्छु।”
विशेष महाधिवेशनले निर्दिष्ट गरेको विधान र कार्यक्रमअनुसार युवाहरूलाई पार्टीमा समेट्दै अघि बढ्ने वातावरण बनेको उल्लेख गर्दै उनले जेनजी आन्दोलनपछि राजनीतिमा आउने चाहना बोकेका सबै नवयुवाहरूलाई कांग्रेसमा आबद्ध हुन आग्रह गरे।
महामन्त्री पौडेलले फागुन २१ को आमनिर्वाचनलाई लक्ष्य गर्दै पार्टीभित्र व्यापक एकता आवश्यक रहेको भन्दै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगर्ने नेताहरूलाई पनि सँगै मिलेर अघि बढ्न अपिल गरे।
“यो जित कुनै समूहको होइन, सिंगो नेपाली कांग्रेसको जित हो। निर्वाचन आयोगको निर्णयलाई कोशेढुंगा बनाएर पार्टी रूपान्तरणको अभियानमा हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने।
नयाँ कार्यसमितिले कसैलाई पनि काखापाखा नगरी विधिसम्मत र लोकतान्त्रिक ढंगबाट पार्टी सञ्चालन गर्ने विश्वास दिलाउँदै उनले आयोगको निर्णयले कांग्रेसलाई संस्थागत रूपमा मजबुत बनाएको बताए।
“अब कांग्रेस राष्ट्रिय आकांक्षा पूरा गर्ने नीति र कार्यक्रमसहित देशको समृद्धि र रूपान्तरणतर्फ केन्द्रित हुनेछ,” उनले स्पष्ट पारे।
पार्टी एकता कमजोर हुने आशंका निराधार रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले कांग्रेसमा लामो समयदेखि योगदान गरेका अग्रज नेताहरूको सम्मान र स्वाभिमान सुरक्षित रहने प्रतिबद्धता जनाए।
“सबैलाई भूमिका दिएर सँगसँगै अघि बढ्ने वातावरण बनाइनेछ,” उनले भने।
महामन्त्री पौडेलले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रमुख कार्यभार फागुन २१ को निर्वाचनमा जनमत हासिल गर्नु रहेको बताउँदै चुनावपछि जतिसक्दो चाँडो पन्ध्रौं महाधिवेशन आयोजना गरिने जानकारी पनि दिए।
उनका अनुसार वैशाखमै वा निर्वाचनपछि आवश्यक तयारी अवधि राखेर नियमित महाधिवेशन सम्पन्न गरिनेछ। साथै नयाँ कार्यसमितिले पूर्वसभापति शेरबहादुर देउवासहित अन्य अग्रज नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्ने उनले बताए।
सानेपास्थित पार्टी कार्यालय जाने विषयमा संयम र धैर्य अपनाउँदै सबै घटनाक्रम बुझेर सहमतिका साथ अघि बढ्ने महामन्त्री पौडेलको भनाइ छ।