नेपालसहित पूर्वोत्तर भारतमा आज पूजाआजा, कारखाना र उद्योगहरूमा विशेष उत्सव — भगवान विश्वकर्मा विश्वकै पहिलो इन्जिनियरका रूपमा श्रद्धा
काठमाडौं । आज विश्वकर्मा पूजा, सृजनाका देवता तथा प्राविधिक ज्ञानका प्रतीक भगवान विश्वकर्माको पूजा–अर्चना गर्दै हर्षोल्लासका साथ मनाइँदैछ। कन्याको संक्रान्तिका दिन मनाइने यो पर्वमा शिल्प संकाय, कारखाना, उद्योग र विभिन्न प्रविधिसम्बन्धी प्रतिष्ठानहरूले आफ्ना मेसिनरी पार्टपुर्जा तथा उपकरणहरूको विशेष पूजा गर्छन्। यस दिन भजन–कीर्तन, नाचगान र सामूहिक उत्सवले वातावरण उल्लासमय बनेको छ।
नेपालमा असोज १ गतेलाई भगवान विश्वकर्माको जन्म दिवसका रूपमा समेत मानिन्छ। पूर्वोत्तर भारत र पश्चिम बंगालमा समेत विशेष पर्वका रूपमा मनाइने यस दिन मजदुर, कलाकार, व्यापारीदेखि औद्योगिक घरानासम्मले अत्यन्त श्रद्धाका साथ पूजाआजा गर्छन्। अधिकांश कलकारखाना बन्द रहने र श्रद्धालुहरूले परिवारसहित पूजा गर्ने परम्परा छ।
धार्मिक विश्वासअनुसार, सृष्टिको संरचना गर्ने जिम्मेवारी ब्रह्माले आफ्नो वंशज शिल्पी देवता विश्वकर्मालाई दिएका थिए। उनी विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकारका रूपमा पूजिन्छन्। शास्त्रहरूका अनुसार उनले सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिर र मूर्तिहरू निर्माण गरेका थिए।
यसरी भगवान विश्वकर्माको स्मरणले सिर्जना, प्राविधिक सीप र उत्पादनशील कर्मप्रति सम्मान र प्रेरणा जगाउने विश्वास गरिन्छ।