काठमाडौं, २३ भदौ ।
जेन जेड आन्दोलनको क्रममा प्रहरीको गोली लागी घाइते भएका लमजुङ जिल्ला राइनास नगरपालिका–३ निवासी सन्तोष वाइबा अहिले पाटन हस्पिटलमा उपचाररत छन्। गत २३ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा वाइबाको देब्रे तिघ्रामा गोली लागेको थियो। सुरुमा उनलाई सिभिल हस्पिटल पुर्याइएको भए पनि तत्कालै पाटन हस्पिटलमा सारेर उपचार सुरु गरिएको हो। चिकित्सकका अनुसार वाइबा अहिले खतरा मुक्त अवस्थामा रहेका छन्।
तर, वाइबाको उपचारमा राज्यको दायित्वप्रति गम्भीर प्रश्न उठेको छ। उपचार खर्च सरकारले बेहोर्ने भनिए पनि हालसम्म प्रत्यक्ष सहयोगको अनुभूति परिवारले पाउन सकेको छैन। न्यून आर्थिक अवस्थाका कारण वाइबाको परिवार गम्भीर संकटमा परेको छ। आमाबाबु मध्ये बुवा मात्र जीवित रहेको र आर्थिक स्रोत अभावमा परिवारजनलाई भेट्न समेत नसकेको पीडा रहेको छ।
यस्तो अवस्थामा वाइबाको रेखदेख साथी प्रदीप बाँस्कोटाले गरिरहेका छन्। बाँस्कोटाले परिवारझैं भूमिका निर्वाह गर्दै घाइते साथीलाई उपचार प्रक्रियामा साथ दिइरहेको दृश्यले आन्दोलनको मानवीय पक्षलाई उजागर गरेको छ।
जेन जेड आन्दोलनले भ्रष्टाचार, नातावाद र तानाशाही प्रवृत्तिको अन्त्यको माग राख्दै देशभरि जनताको समर्थन बटुलिरहेको छ। तर आन्दोलनका क्रममा घाइते हुने युवाको भविष्य सुरक्षित गर्ने जिम्मेवारी राज्यले अझै निर्वाह गर्न सकेको छैन। वाइबाको जस्तै घटनाले आन्दोलनका सहभागी युवा तथा जनताको भोगाइलाई झन् मार्मिक बनाएको छ।
नागरिक समाजले माग गरेका छन्—“राज्यले तत्काल वाइबाको उपचार खर्च मात्र नभई कम्तिमा पाँच लाख सहयोग गरी भविष्यको रोजगारी सुनिश्चितता गर्नुपर्छ।”
यसबीचमा वाइबाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनकारी युवाहरूले संदेश दिएका छन्—“हाम्रो बलिदान र घाउ चिन्नुहोस्, हाम्रो भविष्य सुरक्षित पार्नुहोस्।”