काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनाले देशभर उच्च सतर्कता अपनाएको छ । सेनाले तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन विशेष तालिम प्राप्त २ सय ३७ जना उद्धारकर्मीलाई देशका विभिन्न जोखिमयुक्त स्थानहरूमा अग्रिम रूपमा तैनाथ गरेको जनाएको छ ।
सेनाका रथी विष्णुकुमार खड्काका अनुसार, सेनाले ७७ वटै जिल्लामा रहेका ९४ वटा गणहरूबाट एक–एक गुल्म तथा ती गुल्महरूमध्ये ५८ स्थानमा स्ट्यान्डबाइ फौज उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ । उनका अनुसार, २७ स्थानमा उद्धारका लागि आवश्यक उपकरणसहित विशेष तालिम प्राप्त उद्धारकर्मीहरू अग्रिम तैनाथ गरिएका छन् ।
विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाउन सेनाले सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर अग्रिम तयारी अवस्थामा राखेको छ ।
रथी खड्काले भने, “मौसम पूर्वानुमानमा अत्यधिक वर्षाको सम्भावना देखिएपछि हामीले अग्रिम तयारीका रूपमा उद्धारकर्मी र स्रोतसाधन परिचालन गरेका हौं । हाल ती उद्धारकर्मीहरू विभिन्न विपद् प्रभावित क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्।”
उनका अनुसार, डुबान तथा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय निकायबीचको संयुक्त समन्वयमा सञ्चालन भइरहेको छ ।
नेपाली सेनाले विगतका वर्षहरूमा जस्तै यसपालि पनि मानव जीवन र सम्पत्तिको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै विपद् व्यवस्थापनमा आफ्नो पूर्ण क्षमतासहित खटिने प्रतिबद्धता जनाएको छ ।