ओलीविरुद्धको किटानीपछि अनेरास्ववियुको काउन्टर तयारी, बालेन र सुधनमाथि जाहेरी दिने निर्णय

ecopolinews.com

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयासपछि अब त्यसको प्रतिक्रिया स्वरूप एमाले निकट अखिल (अनेरास्ववियु)ले काउन्टर कदम चाल्ने तयारी गरेको छ।

अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी गरेका छन्। उनीहरू आज साँझसम्म काठमाडौं प्रहरी परिसर पुग्ने तयारीमा रहेको अखिल स्रोतले जनाएको छ।

अखिलका नेताहरूको आकस्मिक बैठकले बालेन र सुधनमाथि सिंहदरबारसहितका सरकारी संरचनामा आगजनी, निजी सम्पत्तिको ध्वंस तथा सुरक्षाकर्मीमाथि आक्रमण र हत्या गराएको आरोप लगाउँदै किटानी जाहेरी दर्ता गर्ने निर्णय गरेको हो।

अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार, “हामीले सबै प्रमाणसहित आज साँझ ५ बजेसम्म जाहेरी दर्ता गराउने तयारी गरेका छौं,” भनेर उनले नेपाल प्रेससँग बताएका छन्।

यसअघि हिजो सुधन गुरुङ नेतृत्वको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिने प्रयास गरेको थियो। तर प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो।

यस घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखलाई बोलाएर उच्चस्तरीय छलफल गरेकी थिइन्। छलफलका क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाहेरी दर्ता गर्न प्रधानमन्त्रीको लिखित निर्देशन आवश्यक पर्ने सुझाव दिएका थिए।

अहिले दुबै पक्षबाट दर्ता प्रक्रियाको तयारी हुँदै गर्दा देशको राजनीतिक वातावरण झन् तात्ने संकेत देखिएको छ। फोटो: नेपाल प्रेस

प्रतिक्रिया