सरकारको वार्ता पहलको दुर्गा प्रसाईद्वारा स्वागत : “अब राष्ट्र र नागरिक जोगाउने परिणाम चाहिन्छ”

ecopolinews.com

काठमाडौं, ९ कात्तिक — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईंले सरकारको वार्ता पहलप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रसाईंले जनताको आवाज सुन्ने सरकारी प्रयासको स्वागत गर्दै भनेका छन्,

 “यदि सरकारले हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसलाई स्वागत गर्छौं। जनताको आवाज सुन्ने यो कदम ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ।”

उनले देशको हितका लागि केवल वार्तामा सीमित नभई राष्ट्र र नागरिक जोगाउने परिणाममुखी समाधान आवश्यक रहेको पनि उल्लेख गरे।

शनिबार गृह मन्त्रालयले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक शक्तिहरूलाई सुरक्षा जोखिमको मूल्याङ्कन गर्दै संवादमार्फत समस्या समाधान गर्न अपिल गरेको थियो। त्यसअघि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे विस्तृत छलफल गरेका थिए।

सरकारले देशमा अस्थिरता र सुरक्षा जोखिम बढ्न सक्ने चेतावनी दिँदै सबै पक्षलाई सडकमा होइन, संवादको बाटोमा अघि बढ्न आग्रह गरेको छ।

प्रसाईंले भने, “वार्ता गर्न बोलाउने मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।”

प्रतिक्रिया