काठमाडौं, असोज ४ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई अब अनिवार्य रूपमा रूपान्तरण र पुनर्गठनको बाटोमा लैजानुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले भनेका छन्, “सभापतिलाई मनाउने हो, फकाउने हो, तर नमाने पनि अघि बढ्ने हो। यसपालि छाड्ने होइन।”
थापाले भदौ २३ र २४ को जनआन्दोलनमा युवाले देखाएको आक्रोश र परिवर्तनको मागलाई कांग्रेसले आत्मसात नगरे पार्टी सान्दर्भिक रहन नसक्ने चेतावनी दिए। उनका अनुसार पार्टीको वर्तमान संरचनाले नयाँ पुस्ताको विश्वास जित्न सकेको छैन, त्यसैले अधिवेशन वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर पार्टीलाई पुनर्जीवित गर्नुपर्नेछ।
“देश जलिरहेको बेला निभाउने तागत हामीले राख्नुपर्छ। परिवर्तन खोजिरहेका नवजवानहरूको माग सम्बोधन गर्न सक्ने पार्टी भयो भने मात्र कांग्रेसको अर्थ रहन्छ, नभए हुँदैन,” थापाले जोड दिए।
भदौ २३ को दमन र भदौ २४ को घुसपैठ दुवै छानबिन गर्नुपर्ने उनले आग्रह गरे। साथै २०४६ सालयताका सबै राजनीतिक, प्रशासनिक र आर्थिक काण्ड कानुनी रूपमा निस्पक्ष छानबिन हुनुपर्ने बताए।
थापाले अन्त्यमा भने, “पार्टीभन्दा माथि देश छ। त्यसैले जस्तोसुकै मूल्य चुकाउन तयार छु। आवश्यकता परे साधारण सदस्य भएर बस्न पनि तयार छु।”