नेपाली कांग्रेसको १५औँ महाधिवेशन:लम्जुङ्ग बाट महाधिवेशन प्रतिनिधिमा इन्जिनियर अरुण खनालको बलियो दाबी

ecopolinews.com

लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीले लमजुङ तातिरहँदा नेतृत्वमा युवा पुस्ताको हस्तक्षेपकारी दाबीले जिल्लाको राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ। परम्परागत राजनीतिको घेरा तोड्दै पार्टीलाई समयसापेक्ष, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने उद्घोषसहित युवा इन्जिनियर अरुण खनालले महाधिवेशन प्रतिनिधि (युवा खुलातर्फ) आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेका छन्। उम्मेदवारी घोषणामै सीमित नभई उनले लमजुङ कांग्रेसभित्र युवा पुस्ताको सार्थक प्रतिनिधित्व र रूपान्तरणको स्पष्ट खाकासहित आफूलाई बलियो दाबेदारको रूपमा उभ्याएका छन्।

खनालको यो दाबी कुनै आकस्मिक रहर नभई डेढ दशक लामो सांगठनिक सङ्घर्षको परिपक्व उपज हो। वि.सं. २०६५ देखि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका उनले कलेज कमिटीको सचिवदेखि उपसभापतिसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्। विद्यार्थीको हकहितबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपाल तरुण दल राइनास नगर कमिटीको सचिव हुँदै गर्दा वडा र नगरस्तरका युवाहरूमाझ गहिरोसँग जरा गाड्न सफल भइसकेको छ। यही लामो सांगठनिक जग र युवा पुस्ताबीच उनले कमाएको अगाध विश्वास नै महाधिवेशनमा उनको जितको पहिलो र सबैभन्दा बलियो आधार विन्दु हो।

समकालीन राजनीतिमा सिद्धान्तको भाषण गर्नेहरू धेरै भए पनि विकासको व्यावहारिक ज्ञान भएका नेतृत्वको चरम अभाव छ। पार्टीलाई यस्तै प्राविधिक सुझबुझ भएको नेतृत्व चाहिएको बेला खनाल एक अब्बल विकल्प बनेर अगाडि आएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि लमजुङकै माटोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत उनले जनताको भत्किएको घर र आशा दुवै निर्माण गर्ने काम गरे। सुन्दरबजार र राइनास नगरपालिकामा कार्यरत रहँदा उनले देखाएको प्रशासनिक क्षमता र विकासप्रतिको हुटहुटीले उनलाई केवल एक राजनीतिज्ञ मात्र नभई 'विकासप्रेमी युवा' को अमिट छवि निर्माण गरिदिएको छ। हाल आफ्नै 'जेआरएस इन्जिनियरिङ हब' (JRS Engineering Hub) सञ्चालन गरेर उद्यमशीलताको नमुना पेस गरिरहेका उनी राजनीतिलाई पेसा बनाउन नहुने मान्यता राख्ने आत्मनिर्भर नेतृत्वका उत्कृष्ट उदाहरण हुन्।

यतिबेला सिंगो नेपाली कांग्रेसभित्र पुस्तान्तरण र वैचारिक रूपान्तरणको बहस पेचिलो बन्दै गएको छ। यो ज्वलन्त आवश्यकतालाई सम्बोधन गर्न खनालजस्ता प्रस्ट दृष्टिकोण, प्राविधिक ज्ञान र इमानदारिता भएका युवाहरू पार्टीको निर्णायक तहमा पुग्नैपर्ने आम कार्यकर्ताको बुझाइ छ। विद्यार्थी र तरुण राजनीतिमा खारिएका, जनताको दुःखमा प्राविधिक बनेर मलम लगाएका र उद्यमशीलतामार्फत आत्मनिर्भरताको सन्देश दिएका इन्जिनियर अरुण खनालको उम्मेदवारीले लमजुङ कांग्रेसलाई थप गतिशील बनाउने र राष्ट्रिय राजनीतिमै युवा नेतृत्वको सान्दर्भिकतालाई अझ उचाइमा पुर्याउने निश्चित छ।


प्रतिक्रिया