कोटीहोममा व्यासपीठ जितेका कृष्ण दमाई अब धनगढी उपमहानगरमा जागिरे

ecopolinews.com

कैलाली । एक वर्षअघि पशुपतिनाथ मन्दिरमा आयोजित कोटीहोम महायज्ञमा प्रवचन दिएर चर्चामा आएका बैतडीका कृष्ण दमाई अब धनगढी उपमहानगरपालिकामा जागिरे बनेका छन्।

संस्कृतमा आचार्य (स्नातकोत्तर) उत्तीर्ण गरेका दमाईलाई उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्ताको जिम्मेवारी दिँदै नियुक्ति गरेको हो। बेरोजगारीको पीडा खेपिरहेका उनले सरकारी अवसर पाउनु स्वयं उनका लागि जीवनको नयाँ अध्याय बनेको बताएका छन्।

बैतडीको शिवनाथ गाउँपालिका–५, बकुन्नामा जन्मिएका कृष्ण दमाई २०८१ साउन २५ गते मानव सेवा फाउन्डेसनले पशुपति मन्दिर परिसरमा आयोजना गरेको कोटीहोम महायज्ञमा प्रवचन दिएपछि चर्चामा आएका थिए। त्यतिबेला महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले उनलाई व्यासपीठमा राखी विशेष सम्मान गरेका थिए।

प्रवचनका क्रममा उनले भनेका थिए, “मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि राष्ट्रदेव पशुपतिनाथको चरणमै स्वर्गको अनुभूति भएको छ। मैले स्वर्ग प्राप्त गरेको महसुस गरेको छु।”

उनको प्रवचन र उपस्थिति पछि विभिन्न जाति तथा समुदायमा संस्कृत शिक्षा र वेद अध्ययनको महत्वबारे नयाँ दृष्टिकोण फैलिएको सहभागीहरूले बताएका थिए।

समाजले संस्कृत र वैदिक ज्ञानलाई एक समुदायमा मात्र सीमित गर्ने प्रवृत्तिलाई तोड्दै कृष्ण दमाईले देखाएको उदाहरणले शिक्षा र समावेशीतातर्फ नयाँ सन्देश दिएको बताइन्छ।

प्रतिक्रिया