काठमाडौँ, असोज ५ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै पदाधिकारीलाई राजीनामा दिन प्रस्ताव गरेका छन्। आइतबार बसेको पदाधिकारी बैठकमा उनले महाधिवेशनसम्म पार्टी संयोजनको जिम्मेवारी वरिष्ठ नेताले लिनुपर्ने धारणा राखे।
शर्माले नेतृत्व हस्तान्तरण नहुँदा पार्टी भित्र संकट गहिरिएको भन्दै अब नयाँ ढंगले अघि बढ्न अपरिहार्य भएको बताए। उनले भने, “पार्टी पुनर्गठनका लागि अध्यक्ष कमरेडदेखि हामी सबै पदाधिकारीहरूले पद छाड्नुपर्छ, महाधिवेशनसम्म वरिष्ठ नेताले संयोजकको भूमिका सम्हाल्नुपर्छ।”
उनको प्रस्तावअनुसार, मंसिर महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न केन्द्रीय कमिटी नै विघटन गरी आयोजक समिति बनाउनु पर्नेछ।
शर्माले अझै भने, “यथास्थितिमा पार्टी अगाडि बढाउन सकिँदैन। महाधिवेशनमा नयाँ पुस्ताको प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्न अहिले नै वैचारिक तथा राजनीतिक कार्यभार अन्तरिम विधानमार्फत निर्देशन कमिटीले लिनुपर्छ।”
उनले अध्यक्ष प्रचण्डसहित पार्टी पंक्तिले महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यकारी कमिटीलाई राजनीतिक र वैचारिक सहयोग गर्ने प्रतिबद्धता गर्नुपर्ने धारणा पनि राखे।