ट्राफिक ज्यादतीको पराकाष्ठा: बसभित्रै आगो बाल्न बाध्य बने चालक

ecopolinews.com

काठमाडौँको व्यस्त सडक त्रिपुरेश्वरमा आज सिङ्गो उपत्यकालाई नै स्तब्ध बनाउने गरी एक बीभत्स घटना घटेको छ। सवारीको सामान्य हर्न बजाएको निहुँमा सुरु भएको ट्राफिक प्रहरीको कारबाही र सम्भावित मानसिक सास्तीको उत्कर्षले अन्ततः एउटा युवा चालकलाई जलिरहेको बसभित्र पुर्‍याएको छ। ट्राफिक प्रहरीको लगातारको नियन्त्रण, केरकार र असहिष्णु व्यवहारबाट आजित बनेका ऋद्दीसिद्दी यातायातका चालकले आफ्नै सवारीसाधनभित्र आगो लगाएर आत्मदाहको आत्मघाती प्रयास गरेका छन्। प्रहरीको निरन्तरको मानसिक दबाब सहन नसकेर एक श्रमजीवी चालकले ज्यानै फाल्ने तहसम्मको बाटो रोज्नुले उपत्यकाको ट्राफिक व्यवस्थापन र सर्वसाधारणमाथि हुने व्यवहारको कुरुप पाटोलाई नाङ्गो पारेको छ।

घटनाको पारदर्शी चित्र कोट्याउँदा बिहान १० बजे त्रिपुरेश्वर चोकमा हर्न बजाएको एउटा सामान्य विषयबाट विवादको बिजारोपण भएको देखिन्छ। थापाथली पोस्टका ट्राफिक प्रहरीले गाडी रोकेर कारबाहीको प्रक्रिया अघि बढाउन खोजेपछि चालकले आफ्नो गल्ती नभएको भन्दै प्रतिवाद गरेका थिए। तर प्रहरीले समस्यालाई सुल्झाउनुको साटो उल्टै घण्टौँसम्म चालकलाई सडकमै रोकेर मानसिक सास्ती दिन थाल्यो। गाडी मालिक लव केसीका अनुसार, आफूलाई बिनाकसुर नियन्त्रणमा लिएर अपमानित गरिएपछि विचलित बनेका चालकले फोनमै आफ्नै ज्यान लिने अन्तिम चेतावनी दिएका थिए। ट्राफिकको हठ र बग्गीखाना धाउनुपर्ने बाध्यताले उत्पन्न गराएको चरम निराशाका बीच ती चालकले "अब मेरो लास मात्रै निस्कन्छ" भन्दै फोनमै आफ्नो विवशता पोखेका थिए।

चालकको यो गम्भीर चेतावनी पाउनासाथ गाडी मालिकले तत्कालै सुरक्षा निकायका उच्च अधिकारी तथा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गरी चालकको ज्यान जोखिममा रहेको र तुरुन्तै त्रिपुरेश्वरमा सुरक्षाकर्मी खटाउन हारगुहार गरेका थिए। तर, सम्बन्धित निकायको चरम बेवास्ता र ढिलासुस्तीका कारण समयमै उद्धार टोली पुग्न सकेन। चेतावनी दिएको आधा घण्टा नबित्दै आक्रोश र निराशाले सीमा नाघेका चालकले बसभित्रै आगो सल्काए। सडकमै दनदनी बलेको बस र त्यसभित्र जलिरहेका चालकको दृश्यले त्रिपुरेश्वर क्षेत्र क्षणभरमै रणमैदान र चीत्कारमा परिणत भयो।

आगोमा परेर गम्भीर घाइते भएका ललितपुर बागमती गाउँपालिकाका ती अविवाहित युवा चालकको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने पूर्ण रूपमा जलेको बस खरानीमा परिणत भएको छ। घरायसी समस्या वा अन्य कुनै लेनदेनको विवाद नभई विशुद्ध ट्राफिक प्रहरीको एकपक्षीय ज्यादती र मानसिक तनावका कारण यो दुर्घटना घटेको प्रमाणहरूले पुष्टि गरेका छन्। पूर्वसूचना पाउँदापाउँदै पनि समयमै हस्तक्षेप गर्न नसक्ने सुरक्षा संयन्त्रको लापरबाही र सडकमा सवारी चालकमाथि हुने दिनहुँको सास्तीले आज एउटा युवालाई मृत्युको मुखमा धकेलेको छ। यो घटनाले सडक सुरक्षाका नाममा श्रमजीवी चालकमाथि हुने अमानवीय व्यवहारविरुद्ध गम्भीर नैतिक र कानुनी प्रश्न खडा गरिदिएको छ।

प्रतिक्रिया