रविन्द्र कट्टेल
काठमाडौं, भदौ २३ – राजधानीमा भड्किएको आन्दोलनपछि राजधानीकै प्रमुख सिभिल अस्पतालमा असह्य चाप बढ्दै गएको छ। डाक्टरहरूले दिएको ताजा विवरणअनुसार हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी घाइतेहरू अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये करिब १२ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको र तत्काल आईसीयू बेड, रक्तदान र आपतकालीन सहायताको खाँचो परेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालमा एकैपटक ठूलो संख्यामा घाइते भर्ना भएपछि आपूर्ति प्रणालीमा चरम संकट देखिएको छ। औषधि, खाना र पानी समेत टुट्ने अवस्था आएको र चिकित्सकहरूले मानवीय संकटको चेतावनी दिएका छन्। “यदि तत्काल सहारा नपाए स्वास्थ्य संकट मानवीय संकटमा परिणत हुन्छ” सिभिल अस्पतालका एक डाक्टरले बताएका छन्।
मृतकका आफन्तहरू अस्पताल परिसरमै रोदन गर्दै सरकारप्रति आक्रोश पोखिरहेका छन्। उनीहरूले राहत, खाना र पानीको तत्कालीन व्यवस्था गर्न माग गरेका छन्। यसबीच सामाजिक सञ्जालमा यो समाचार तीव्र गतिमा फैलिँदैछ र नागरिकहरू सरकारले तुरुन्तै कदम चाल्नुपर्ने भन्दै दबाब दिइरहेका छन्।